
भैरहवा, २९ फागुन । भैरहवाका व्यवसायी तेजबहादुर खत्रीको सवारी दुर्घटनामा परेर उपचारका क्रममा निधन भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भैरहवा आउने क्रममा बिहीबार बेलुकी करिब ५ः२० बजे लु ४५ प ५२४२ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो। सिद्धार्थनगर नगरपालिका–९ स्थित नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रको पूर्वतर्फको मुख्य राजमार्गमा खत्रीले चलाएको स्कुटर अनियन्त्रित भई सडकछेउको र्यालिङमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सिद्धार्थनगर नगरपालिका–१३ निवासी ५० वर्षीय खत्रीलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (यूसीएमएस) लगिएको थियो। उपचारकै क्रममा बिहीबार राति १०ः३६ बजे उनको निधन भएको अस्पतालले जनाएको छ।
स्वर्गीय खत्रीका श्रीमती र दुई छोरा रहेका छन्। उनको शुक्रबार रुरुधाम क्षेत्र रिडीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका उपाध्यक्ष समेत रहेका खत्रीको निधनले व्यवसायी समुदाय स्तब्ध बनेको संघले जनाएको छ। संघले शोक विज्ञप्ति जारी गर्दै उनको निधनले संघलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।
संघका अध्यक्ष यादव पोख्रेलका अनुसार खत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्न फागुन २९ गते शुक्रबार एक दिनका लागि संघमा आबद्ध व्यवसायीहरुलाई व्यवसाय बन्द गर्न अनुरोध गरिएको छ।
खत्री लामो समयदेखि भैरहवाको देवकोटा चोकमा अमृत कोल्ड स्टार्स नामक व्यवसाय सञ्चालन गर्दै आएका थिए।




