राधिका शाक्यको ‘करुणा’ : आँसुले लेखिएको इतिहासको अभिलेख

सामान्यतया नेताको पत्नी वा परिवार भन्नसाथ आम मानिसको दिल-दिमागमा फ्याट्टै आउने उत्तर हो, ‘शक्ति केन्द्र, सत्ता अभ्यास, शक्ति उन्माद आदि ।’ विगत लामो समयदेखि नेताहरूको पत्नी वा परिवारबाट आजसम्म जे जसरी शक्तिको अभ्यास भयो, त्यसले आम मानिसमा निर्माण गरेको खराब बिम्ब हो यो । यही खराब बिम्बको घानमा कतिपय असल मान्छेहरू पनि पर्ने गरेका छन् ।

नेताका पत्नी वा परिवार भन्ने बित्तिकै शक्ति अभ्यास वा उन्माद भन्ने आम बुझाइ छ । तर, यो बुझाइको अपवाद हुन्- राधिका शाक्य । जसले दशकौंदेखि हिँडेको बाटो र देखाएको उज्यालोले नेताहरूका पत्नी वा परिवारमाथि बनिरहेको खराब बिम्बलाई विनिर्माण गरिदिएको छ । राधिका स्वयं शालीनता, त्याग र समपर्णको प्रतीक बनेकी छन् ।

राधिका शाक्य अर्थात् नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी ! जो ‘हाइ प्रोफाइल’ मा छिन्, तर ‘लो प्रोफाइल’ जीवन बाँचेकी छिन् । जसलाई मानव सेवाबाहेक अरु केही गर्नु छैन । श्रीमान्‌को पद र प्रतिष्ठालाई उनले कहिल्यै पनि निजी जीवनको हितमा लगाइनन् । पाएको सुविधा र अवसर पनि नलिँदा बरु ‘मूर्ख मन्त्राणी’ भनी मागिन् ।

राजनीतिको उछिनपाछिनले विरोधी तथा आलोचकहरूको प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनेक प्रश्न होलान् । आलोचना गरिरहेका छन् । तर, राधिकाले चुपचाप र बेहिसाब गरिरहेको त्याग र समपर्णबाट उनीहरू पनि नतमस्तक छन् । उनै राधिका अर्थात् प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लाई पाणिनि बुक्सले बजारमा ल्याएको छ ।

पाटनको महापालदेखि बालकोटको बार्दलीसम्म

बीसको दशकदेखि सत्तरीको दशकसम्मको कथा छ, उनको आत्मकथा ‘करुणा’ मा । ललितपुरको पाटनदेखि भक्तपुरको बालकोटसम्मको आरोह-अवरोह र घुम्तीहरूको सम्झना छ । त्यसो त शाक्य केवल एकजना लेखिका वा नागरिकमात्रै होइनन्, इतिहासको एउटा अध्याय नै नेपाली राजनीति र समाजलाई आफ्नो बाटो र उज्यालोमा हिँडाउने एकजना नेतृत्वकर्ताको आरोह-अवरोहको प्रत्यक्षदर्शी हुन्, साक्षी हुन्, सहयात्री हुन् । त्यस कारण उनले बाँचेको समयको कथा केवल उनको आत्मकथामात्रै होइन नेपाली राजनीतिको इतिहास पनि हो, अभिलेख पनि हो र नेपाली समाजलाई चिहाउने एउटा आँखीझ्याल पनि ।

पाटन महापालको सिलाइ घरमा कल घुमाइरहेका राधिकाको बुवालाई भामा दिदीले गरेको प्रश्न, ‘छोरीलाई किन स्कूल नपठाएको ?’ बाट सुरू भएको शैक्षिक यात्रा अर्थशास्त्र र इतिहासमा स्नातकोत्तरसम्म पुग्छ । त्यही उज्यालो यात्राले उनलाई वि.सं २०३६ देखि २०६८ सम्म नेपाल राष्ट्र बैंकको उच्च पदसम्म लैजान्छ । आदर्श कन्या निकेतनको शिक्षिका भामा दिदीको प्रश्नको तागतमा तय भएको राधिकाको आदर्श कन्या निकेतनको यात्राको कथा जो केहीका लागि प्रेरणादायी छ ।

हुन त यही समाज हो, जहाँ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यहरूले बारम्बार रुँदै स्पष्टीकरण दिनु परेको छ । श्रेष्ठ र आचार्यहरूको माटोप्रतिको मायामा प्रश्न उठाइन्छ । आनीछोइङ डोल्मामाथि प्रश्न उठाइन्छ । उनै मान्छेहरूले राधिकाहरूलाई प्रष्टीकरण दिन बाध्य पार्छन् ।

वि. सं. २०४४ फागुन १० मा कुपन्डोलको एक कार्यकर्ताको घरबाट सुरू भएको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहयात्राको कथा केवल उनको मात्रै कथा होइन, नेपाली राजनीतिको इतिहासको अभिलेख पनि हो । पाटनको महापालदेखि बालकोटको बार्दलीसम्मको राधिकाको कथा नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिको आरोह अवरोहको कथा पनि हो ।

आफ्नो कथा भन्दै गर्दा राधिकाले इतिहासको अभिलेख पनि सुरक्षित गराएकी छिन् । ४० वटा उपशीर्षक मार्फत उनले दिएको आत्म बयान सबै इतिहासको दस्तावेज भन्न सकिन्छ । किनभने ती हरेक उपशीर्षकमा नेपाली राजनीति र समाजको भित्री अन्तरकथा अर्थात् इतिहास लेखेकी छिन् ।

सेवामा सिंगो जीवन

तत्कालीन झापा विद्रोहका नेता केपी शर्मा ओली २०४४ असार ११ गते १४ वर्ष लामो जेल जीवन बिताएर रिहाइ भए । राधिका ललितपुरको शाक्य परिवारमा जन्मिएकी छोरी । २०३४ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेकी शिक्षित महिला । अनेमसंघ बागमती अञ्चल कमिटीको सदस्य ।

त्यसबेला केपी शर्मा ओलीको राजनीतिक पोर्टफोलियो के थियो ? राधिकालाई पत्तो थिएन । झुस्स दाह्री, फुक्क गर्दा ढल्ला जस्तो ज्यान । ज्यान पनि के भन्नु, ह्यांगरमा झुन्ड्याएको कपडा जस्तो मात्र ! बिहेको प्रस्तावमा ओलीले भन्छन्, ‘मेरो नाम केपी ओली, ज्यान यही हो । मसँग सम्पत्तिको नाममा केही पनि छैन। मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिनँ । तिमीलाई समय पनि दिन सक्दिनँ ।’

बिहेको प्रस्तावमा न कुनै बाचा, न कुनै प्रतिबद्धता वा कसम । बरु उल्टै धागोको धरोसमेत दिन नसक्ने, समय दिन नसक्ते बताउँछन् । तैपनि राधिका बिहेका लागि तयार भइन् । यसको एकै कारण थियो, उनीसित निहीत करुणा भाव । उनले किताबमा लेखेकी छिन्, ‘राजनीतिक पोर्टफोलियो उहाँको के थियो थाहा थिएन तर, १४ वर्ष जेल जीवन बिताएर छुटेको भन्ने सुन्दा छुट्टै सम्मान र करुणाभाव जाग्थ्यो ।’

केपी शर्मा ओलीप्रतिको राधिकाको आकर्षणको कारण रहेछ, इमानदारीता । आत्मकथामा भनेकी छिन्- ‘यसो सोचेँ, पहिलो पटक भेटेको केटाले तिमीलाई यो गरिदिन्छु, ऊ गरिदिन्छु आकाशकै तारा झारिदिन्छु पनि त भन्न सक्थ्यो नि ! त्यो नभनेर किन मबाट केही आशा नगर, म तिमीलाई धागोको धरो पनि किनिदिन सक्दिनँ भनेर टक्टकिन्छ ? यो त इमानदारी हो नि ! नसक्ने कुरालाई सक्दिनँ भनेर इमानदारिता देखायो ! झूटो आशामा बाँच्नुभन्दा साँचो अभावमा बाँच्नु नै जीवनको श्रेयस्कर पाटो हो भन्ने ठम्याइ भएकाले नै म कम्युनिष्ट धारमा ढल्केकी हुँ ।’

एउटा धागोको धरो र अलिकति समयको आशाविना बिहेका लागि तयार भएका राधिकाको सिंगो जीवन समर्पण र सेवामा बितेको छ । प्रधानमन्त्री ओलीले एकपछि अर्को स्वास्थ्यका समस्याहरूलाई सहनुपर्ने भयो । राधिकाको अधिकांश समय औषधिहरूको सूचीसँग बितिरहेको छ । दिल दिमागमा घुम्ने धेरै सम्झनाहरू अस्पतालसँग जोडिएका छन् । राधिकाको त्यही सेवा र समर्पणबारे आत्मकथा विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म जति श्रीमतीसँग खुशी मान्छे कोही पनि छैन होला सायद । म त्यति खुशी छु । राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन ।’

औषधि र अपरेसनहरूले प्रधानमन्त्री ओलीको शरीर सग्लो छैन । तैपनि सक्रियता असाधारण छ । औषधिदेखि दैनिकीहरूमा चनाखो भएर उभिनु पर्ने बाध्यता छ, राधिकालाई । उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘शरीर कहाँ सग्लो छ र ! मैले हेरिनँ भने त उहाँ ढली हाल्नुहुन्छ ।’

आत्मकथामा अस्पतालहरूको यात्रा र औषधिहरूको सूचीसँगको दैनिकी पढिरहँदा जो केहीको हृदय उद्देलित हुन्छ । र सोध्न मन लाग्छ, ‘कस्तो समर्पण, कत्रो त्याग ?’ पुस्तकमा राधिकाले आफनो कथाहरू यस्तरी भनेकी छिन् कि मन परेको फिल्म हेरे जस्तो तानिरहन्छ । किताबमार्फत् प्रधानमन्त्री ओलीको अनेक निजी विशेषता जान्न, प्रधानमन्त्री ओलीका अनेकन आयामलाई नजिकबाट बुझ्न सकिन्छ ।

आँसु र पीडाका कथा

‘हजुरआमाको स्वेटर’ र ‘मेरै काखमा बाको अन्तिम श्वास’ च्याप्टर आँसुको कहानी हो । मामाघरको हजुरआमा राधिकाको प्रिय मान्छे । राष्ट्र बैंकको पहिलो जागिर खाएर आएको पहिलो तलबले उनले हजुरआमालाई पहँलो रङको स्वेटर किनिदिएकी थिइन् ।

उनले लेखेकी छन्, ‘त्यो स्वेटर हजुरआमाले जाडो महिनाभरी लाएको लायै गर्नुहुन्थ्यो । प्रसङ्ग नभएको ठाउँमा पनि नानीदेवीले ल्याइदेकी स्वेटर भन्नुहुन्थ्यो । मेरो नातिनीले ल्याइदेको स्वेटर कहिल्यै फुकाल्दिनँ, जहिल्यै लाउने हो म त भन्नुहुन्थ्यो ।’

प्रिय नातिनी नानीदेवीले ल्याइदिएको पहेँलो स्वेटर कहिल्यै नफुकाल्ने हजुरआमा चापागाउँको पोखरीमा डुबेर सधैँका लागि बिदा हुन्छिन् । तर, संयोगवश उही पहेँलो स्वेटरसँगै डुबेकी थिइन् । लेखेकी छिन्, ‘जाँदा पोखरीबाट हजुरआमाको पार्थिव शरीर शहर निकालिँदै थियो । उहाँको शरीरमा त्यही पहेँले स्वेटर थियो । नातिनीले ल्याइदेको स्वेटर म कहिल्यै फुकाल्दिन भन्नुहुन्थ्यो रे । भावीको लेखन भनौं कि संयोग, जसो भन्या उसै त्यो स्वेटर उहाँले फुकाल्नु परेन ।’

राधिकाको लागि ‘बा’ सबथोक थिए । उनको बाको अन्तिम श्वास राधिकाकै काखमा गयो । उनले लेखेकी छन्, ‘बाको रिक्तता मेरो जीवनको एक अपूरणीय अभाव हो । म उहाँकी जेठी छोरी भएर जन्मनु नै अहोभाग्य ठान्छु । बाको माया, स्नेह र विश्वासको जगमा नै मैले आफूलाई उभ्याउन सकेकी हुँ । त्याग, समर्पण, मिहिनेत, आत्म-विश्वास र आत्म-सम्मान बाबाटै सिकेकी हुँ । आज म जहाँ छु, थोरै मेरो प्रयत्न अनि धेरै बाको अभिभावकत्वको परिणाम हो ।’

केपी शर्मा ओलीसँगको बिहेमा उनको ‘बा’ को केही असहमति रहेको प्रसङ्ग पनि उल्लेख गरेकी छिन् । आत्मकथामा भनेकी छिन्, ‘हाम्रा बिहेप्रति बाका केही असहमति जरुर थिए । त्यतिबेलाका बाका असहमति एक न एक दिन यो मिल्दै जानेछ भन्ने मेरो विश्वास समयक्रममा पुष्टि भयो । मेरो जीवनका सबैभन्दा महत्वपूर्ण दुई पुरुष मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएकी थिएँ अनि केपी सर, जोसँग म अन्मिएकी थिएँ ।’

बाको शिल्पी केपी ओलीको शरीरमा सजिंदाको आनन्द पनि उल्लेख गरेकी छिन् । लेखेकी छिन्, ‘बाको हात चलुन्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे । मेरो बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो । केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडामात्र नभएर ज्वाइँ-ससुराबीच सम्बन्ध र भावनालाई जोड्ने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिँदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे ।’

इतिहासको अभिलेख

पुस्तकमा केवल राधिकाको निजी सुखदु:ख मात्रै छैनन् । उनीसँग जोडिएका घुम्ती र आरोहहरूबाट नेपाली राजनीतिको घुम्ती पढ्न पाइन्छ । खासगरी पार्टीका अन्तरसंघर्षका कथाहरू, त्यसले निम्ताएका मनोदशाहरूलाई पढ्न सकिन्छ । ‘मेट्न मिल्ने भए त्यो दिन क्यालेन्डरबाटै मेटाइदिन्थेँ’ उपशीर्षकमा लेखिएको कथाबाट तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षको कथा र मनोदशालाई नजिकबाट बुझ्न सकिन्छ ।

१० फागुन २०७७ र त्यस वरिपरिका दिनहरू कति सकसपूर्ण थियो, त्यसलाई बुझ्न त्यो त्यही कहानी पढे हुन्छ । दासढुंगाको कथा पीडा होस् वा प्रधानमन्त्री ओली आफ्नै घरमा नजरबन्दमा पर्दाका कथाहरू हुन् वा प्रधानमन्त्री कार्यालयमा रहँदाका सम्झनाहरू हुन् । यी सबै इतिहासको अभिलेख हो ।

राधिकाको करुणा र हाम्रो समाजको कृतघ्नता

११ फागुन २०८१, ‘करुणा’ को विमोचन कार्यक्रम । मञ्चमा प्रमुख अतिथिको रूपमा थिए, प्रधानमन्त्री ओली । पुस्तकको टिप्पणीकर्ता नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्मा ।

त्यसदिन सधैँ मञ्चहरूमा भव्य पहाडजस्तै शालीन देखिने राधिका अलि खुलेर प्रस्तुत भइन् । केही प्रष्टीकरण, केही गुनासो, केही आग्रह र केही आक्रोशसहित । पुस्तक सार्वजनिक कार्यक्रमअगावै पुस्तकको अंश प्रकाशन भइरहेको रहेछ । प्रकाशित पुस्तक अंशमुनि गरिएका केही टिप्पणीहरू पढेकी रहिछन् । प्रश्नहरू पढेकी रहिछन् । ती टिप्पणी र प्रश्नहरूको उनले बढो शालीनतापूर्वक तर आत्मविश्वासका साथ उत्तर दिइन् ।

भनिन्, ‘राष्ट्र बैंकमा अन्य ठाउँको तुलनामा सेवा सुविधा राम्रै छ । जसोतसो गरेर एउटा बस्ने घर हामीले बनाएकै हो । प्रश्न गर्नेहरूलाई भन्न मन लाग्छ, त्यो घर कसरी बन्यो, के भयो । एक एक हिसाब बुझाउन तयार छु । दुई पैसा कतैबाट केही गरेर ल्याएका छैनौं । आफ्नै पसिना आफ्नै मेहनतले त्यो घर बनाएका छौं ।’

आरोप लगाउनेहरूको प्रश्न छ, ‘बालकोटमा कसरी घर बन्यो ?’ राधिकाले भने जस्तै उत्तर सहज छ, सेवा सुबिधाको हिसाबले राष्ट्र बैंक आकर्षक सरकारी कार्यालय हो । जहाँ राधिकाले उच्च पदमा रहेर २०३६ देखि २०६८ सम्म काम गरिन् । फेरि प्रश्नहरू तिनै मान्छेले गर्छन्- जसले विनाउद्यम र आधार केही थान वर्षमा काठमाडौंमा महल बनाएका छन् ।

राधिकाले बढो उन्मुक्त गरी ‘एक-एक हिसाब बुझाउन’ तयार भएको बताइरहँदा हलमा उपस्थित सबैले बढो श्रद्धाको साथ एकोहोरो ताली बजाइरहेका थिए । तर, त्यति शालीन र शान्त राधिकाले मञ्चमा उभिएर ‘हिसाब बुझाउन तयार छु’ भनिरहँदा एउटा स्वाभाविक प्रश्न उठ्छ, हाम्रो समाज कति कृतघ्न हुँदै गइरहेको छ ? हामी यति धेरै कृतघ्न किन भइरहेका छौं ?

राधिकाले यो प्रष्टीकरण दिइरहँदा एकजना उच्च पदस्थ कर्मचारीले खुसुक्क भने, ‘सर ! यो समाजमा असल हुनु पो समस्या छ त । हेर्नुहोस् त उहाँजस्तो मान्छेले पनि मञ्चमा उभिएर प्रष्टीकरण दिनुपर्छ ।’

हामी कहाँ एउटा यस्तो समूह छ, जसले प्रश्नका नाममा, आलोचनात्मक दृष्टिकोणका नाममा, सधैँ सधैँ उत्तजेना र घृणा बाँडिरहन्छन् । जसको शिकार बेदाग राधिकाहरू पनि भइरहेका छन् । यहाँनिर फेरि पनि सोध्न पर्ने प्रश्न हो, ‘हामी यति धेरै कृतघ्न किन भइरहेका छौं ?’

हुन त यही समाज हो, जहाँ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यहरूले बारम्बार रुँदै स्पष्टीकरण दिनु परेको छ । श्रेष्ठ र आचार्यहरूको माटोप्रतिको मायामा प्रश्न उठाइन्छ । आनीछोइङ डोल्मामाथि प्रश्न उठाइन्छ । उनै मान्छेहरूले राधिकाहरूलाई प्रष्टीकरण दिन बाध्य पार्छ ।

आत्मकथा विमोचनका दिन राधिकाले दिनु परेको प्रष्टीकरणबाट बुझ्न सकिन्छ, हामीकहाँ घृणा र उत्तेजनाको आगो कसरी फैलिरहेको छ । हामीकहाँ नकरात्मकताको महामारी यस्तरी फैलिरहेको छ, त्यसले चेतना होइन, समाजमालाई डिप्रेसनतिर लगिरहेको छ । महामारी छ, निराशा र नकरात्मकताको भाष्यको ।

पुस्तकमा लेखकले इमानका साथ आफ्ना कथाहरू भनेकी छिन् । पढ्दा यस्तो लाग्छ, राधिकाले अगाडि बसेर कथा सुनाइरहेकी छिन् । तर, कतिपय श्रृंखला र कथा भन्ने शैलीमा सम्पादकले थप ध्यान दिएको भए हुन्थ्यो भन्ने चाहिँ लाग्छ ।

आत्मकथामा आफ्नो कथा ‘म’ भन्ने हो । तर, अन्तिमका आठ उपशीर्षकका आलेख चाहिँ पढिरहँदा कहीँ कतै वैचारिक लेखजस्तो भान हुन्छ । त्यसलाई पनि ‘फस्ट पर्सन’ अर्थात् ‘म’ भएर भनिएको भए सुनमा सुगन्धजस्तै हुने थियो कि ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5