
४६ बर्ष देखि निरन्तर वर्कसप चलाइरहेका मुन्ना मिस्त्रीको वर्कसपमा दैनिक १० देखि १८।२० वटा सम्म मोटरसाइकलहरु मर्मत सम्भार हुने गर्दछन ।
बर्षमा एकदिन होलीको दिनमात्रै बन्द हुने उक्त वर्कसपमा नेपालको काठमान्डौँ देखि भारतको गोरखपुर सम्मका ग्राहकहरु आउने गर्दछन् ।

४६ बर्ष पहिले मासिक ५ सय रुपैयाँ भाडा तिर्ने गरी जग्गा भाडामा लिएर वर्क सप चलाइरहेका मुन्ना मिस्त्रीको भाडा बढेर अहिले ११ हजार भारतीय रुपैयाँ भएको छ । तर उनको ब्यवहार भने विगतमा जस्तो थियो अहिले पनि उस्तै छ ।
उनको वर्कसपमा आउने ग्राहकहरूमा पचास प्रतिशत भारतीय र पचास प्रतिशत नेपाली रहेको मुन्ना मिस्त्री बताउँछन् । रोयल ईनफील्डको बुलेट मोटरसाईकलको लागि सबैभन्दा भरपर्दो मिस्त्रीको पहिचान बनाएका मुन्ना खाँन मुन्ना मिस्त्रीका नामले परिचित छन् । उनले भने, ‘पहिले यो ठाउँमा खपडाको घर बनाएर वर्क सप सन्चालन गरेको हो । अहिले यी पक्की घर बन्यो । तर मेरा ग्राहकहरु चालिस बर्ष पहिले जुन थिए अहिले पनि तिनै छन् । केहि नयाँ नयाँ थपिएका छन् ।
साढे चार दशकको दौरानमा १० हजार भन्दा बढी उनीसँगै काम गरेका हेल्परहरु मिस्त्री बनेर नेपाल र भारतको विभिन्न ठाउँमा स्वरोजगार बनेको उनी बताउँछन् । उनी भन्छन, ‘मैले जीवनमा १० हजार भन्दा बढी युवाहरुलाई मिस्त्री बनाएँ । नेपालको काठमाडौँ, पोखरा, चितवन, बुटवल भनौ वा गोरखपुर, लखनऊ, कानपुरमा मैले सिकाएका मिस्त्री भेटिँदा खुसी हुुन्छुु ।
साढे चार दशकको बुलेट मोटरसाईकल बनाउँदाको अनुभवमा उनले बुलेट राईडरहरुलाई पनि केहि सुझाब दिएका छन् ।
६२ बर्षिय मुन्ना मिस्त्रीले भने, ‘बुलेट चलाउनेले अरु केहि गर्नुपर्दैन । हरेक हप्ता चेनमा तेल हाल्नुपर्छ । हरेक हप्ता सफा पानीले धुनुपर्दछ । बुलेट बाइक एअर कुलिङ इन्जिन हो । यसैले सफाई चाहिन्छ । ’
नेपाल भारत सीमावर्ती सहर नौतनवामा वर्क सप सन्चालन गरिरहेका मुन्ना मिस्त्रीसँग अहिले पनि १५ जनाले सँगै काम सिक्दै कमाउँदै गरिरहेका छन् । उनले भन्छन, ‘कोहि पनि मिस्त्री बन्ने इच्छा राखेर ५ बर्ष मेरो अन्डरमा काम गर्छ भने त्यसले ५ बर्षपछि मासिक एक लाख कमाउन कहिँ कतै जान पर्दैन । 
नौतनवाको वर्कसपमा नेपालको नवलपुर दुम्किबासदेखि आएका राजु जि.सीले मुन्ना मिस्त्री बुलेट बाईकोलागि राम्रो डाक्टर भएको बताए । उनले भने, ‘मुन्ना भाइले एकपटक बाइक चलाएपछि मोटर साइकललाई के रोग लागेको छ सबै थाहा हुन्छ । अनि ढुक्क हुन्छ ।
जि.सी हरेक पटक बाइक सर्भिसिङ गराउन आफु नौतनवा नै आउने गरेको बताए । टाढाबाट आएता पनि खर्च पनि सस्तो र समान पनि गुणस्तरीय पाउने गरेको जि.सी दाबी गर्छन । जि.सी जस्तै गोरखपुर देखि आएका राजु श्रीवास्तव १० सालदेखि नियमित बाइक बनाउन आईरहेको बताउँछन् । राजुले भने, ‘गोरखपुर मा भन्दा राम्रो छ । यसैले म गोरखपुर बाट नौतनवा बाइक सर्भिसिङ गराउन आउने गर्दछु ।

















