आधुनिक प्रविधिबाट युसिएमएसमा घुँडाको सफल उपचार, बिरामी उत्साहित

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) मा बुटवलका ७० वर्षीय डोलराज अर्यालको घुँडाको सफल जोर्नी प्रत्यारोपण (टोटल नि रिप्लेसमेन्ट) गरिएको छ।

लामो समयदेखि अटो इन्जिनियरिङ पेशामा आबद्ध बुटवल वडा नम्बर ९ निवासी अर्यालको घुँडामा आएको गम्भीर समस्या र चोटका कारण हिँडडुलमा समस्या देखिएपछि युसिएमएसका हाडजोर्नी विशेषज्ञहरूको टोलीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो।

केही समयअघि बुटवल वडा नम्बर १४ मा भएको मोटरसाइकल दुर्घटनाका कारण अर्यालको घुँडामा गम्भीर चोट लागेको थियो। सुरुमा सामान्य मलम र औषधि प्रयोग गरे पनि दुखाइ कम नभएपछि उनलाई थप उपचारका लागि युसिएमएस पुर्‍याइएको थियो।

उपचारमा संलग्न हाडजोर्नी विशेषज्ञ डा. बिपन श्रेष्ठका अनुसार उमेरका कारण हड्डी कमजोर हुँदै गएको अवस्थामा चोट लागेपछि घुँडाको भित्री गद्दा (मेनिस्कस) च्यातिएर हड्डीहरू एकआपसमा घिस्रिन थालेका थिए।

जसका कारण हिँडडुल गर्नै नसक्ने अवस्थामा पुगेका बिरामीलाई अस्पतालले ‘टोटल नि रिप्लेसमेन्ट’ प्रविधिमार्फत नयाँ जोर्नी हालेर सफल उपचार गरेको हो।

युसिएमएसको अर्थोपेडिक विभागमा कार्यरत अर्का हाडजोर्नी विशेषज्ञ डा. शेशल श्रेष्ठले हाल अस्पतालमा खेलकुदका क्रममा हुने चोटपटक, नशा चुटिने र गद्दा च्यापिने जस्ता जटिल समस्याहरूको आर्थोस्कोपी र अन्य आधुनिक प्रविधिबाट सफल उपचार भइरहेको जानकारी दिए ।

उपचारपछि निको हुँदै गरेका डोलराज अर्यालले युसिएमएसको सेवा र चिकित्सकहरूको व्यवहारप्रति उच्च सन्तोष व्यक्त गरेका छन् । आफ्नो उमेर जतिसुकै भए पनि काम गर्ने हिम्मत अझै बाँकी रहेको बताउँदै उनले सफल उपचारपछि पुनः आफ्नो अटो इन्जिनियरिङको पेशामा फर्कने उत्साह व्यक्त गरेका छन् ।

युसिएमएसको नियमित निगरानी, नर्सिङ सेवा र चिकित्सकहरूको निरन्तर सान्त्वनाले आफूलाई छिटो स्वास्थ्य लाभ गर्न मद्दत पुगेको उनको अनुभव छ।

शल्यक्रियाअघि सय पाइला पनि हिँड्न नसक्ने अवस्थामा रहेका अर्याल अहिले सहजै हिँडडुल गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5