
कपिलवस्तुमा प्रहरीले अवैध हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. १ इमिलिया बस्ने ३४ वर्षीय श्याम कुँवर भनिने सुरज कुँवरलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई वैशाख ५ गते राति ८:३० बजे बुद्धभूमि नगरपालिका-१ डुमराबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कुँवरको घर खानतलासी गर्दा उनको सुत्ने कोठामा रहेको स्टिल दराजभित्र ‘मेड इन चाइना’ लेखिएको पेस्तोल जस्तो देखिने फलामको वस्तु (७ इन्च लम्बाइ भएको) फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ परेका कुँवरलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। उनलाई कपिलवस्तु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

















