
भैरहवामा आगामी वैशाख ८ गतेदेखि १५ गतेसम्म ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। लुम्बिनी खुकुरी क्लबको आयोजनामा हुने प्रतियोगिता सिद्धार्थ रंगशाला, भैरहवामा सञ्चालन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
प्रतियोगितामा नेपालका १३ र भारतका ३ गरी कुल १६ टिमले सहभागिता जनाउने छन्। खेलहरू नकआउट प्रणालीमा सञ्चालन गरिने कार्यक्रम संयोजक नन्दन श्रेष्ठले बताए।

विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान, बलरलाई जनही ५ हजार ५ सय र म्यान अफ द म्याच १५ सय रुपैयाँ प्रदान गरिनेछ।
भारतबाट नौतनवा, गोरखपुर र कोल्हईका टिम सहभागी हुनेछन् भने नेपालतर्फ रुपन्देही जिल्लाभित्रका ११ र बाहिरका २ टिमले प्रतिस्पर्धा गर्नेछन्।
क्लब अध्यक्ष महेश थापाका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान पुर्याउनु हो। यसअघि पनि क्लबले क्रिकेट विकासमा भूमिका खेल्दै आएको उनले बताए।
सिद्धार्थनगर नगरपालिका–१ का वडाध्यक्ष उज्ज्वल पोखरेलले खेलकुद विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उत्पादनमा मद्दत गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताको अनुमानित लागत करिब ११ लाख ५० हजार रुपैयाँ रहेको छ। सिद्धार्थनगर नगरपालिका–१ मुख्य प्रायोजक रहेको छ। कार्यक्रममा लुम्बिनी प्रेस क्लब अध्यक्ष कमल रायमाझी, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा र पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनलगायतको उपस्थिति थियो।
क्लब सचिव ओजश शर्माले जिल्ला स्तरबाट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता निरन्तर सञ्चालन गरिने बताए।

















