पत्रकार आचारसंहिता उल्लङ्घनमा पर्सा महासङ्घको कडा चेतावनी

पर्सामा पत्रकार आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्दै गएको भन्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले कडा चेतावनी जारी गरेको छ। आइतबार जारी प्रेस विज्ञप्तिमार्फत महासङ्घले आचारसंहिताविपरीत समाचार सम्प्रेषण गर्ने पत्रकार र सञ्चारगृहलाई आवश्यक परे कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको हो।

महासङ्घका अनुसार जिल्लाका केही सञ्चारमाध्यम र पत्रकारहरूले समाचार सम्प्रेषणका क्रममा आधारभूत पेशागत मान्यता नै बेवास्ता गरिरहेका छन्। विशेषगरी सामाजिक सञ्जालमार्फत सञ्चालन भइरहेका केही माध्यमहरू—जस्तै फेसबुक र युट्युब—मा संवेदनशील विषय प्रस्तुत गर्दा गैरजिम्मेवार व्यवहार देखिएको आरोप लगाइएको छ।

विज्ञप्तिमा जबरजस्ती करणी, सामाजिक सद्भाव र व्यक्तिगत गोपनीयताजस्ता विषयमा समाचार बनाउँदा आवश्यक संवेदनशीलता नदेखाइएको उल्लेख गरिएको छ। यस्ता सामग्रीले पीडितको मर्यादा र गोपनीयता उल्लङ्घन गर्नुका साथै समाजमा नकारात्मक प्रभाव पार्ने महासङ्घको भनाइ छ।

समाचार सङ्कलन र प्रसारणका क्रममा न्यूनतम शिष्टता र व्यावसायिक सीमासमेत उल्लङ्घन भएको पाइएको भन्दै महासङ्घले यसले समग्र सञ्चार क्षेत्रकै विश्वसनीयतामाथि प्रश्न उठाएको जनाएको छ। यसअघि पनि सम्बन्धित पक्षलाई पटक–पटक सचेत गराउँदा बेवास्ता गरिएकोप्रति महासङ्घले असन्तुष्टि व्यक्त गरेको छ।

महासङ्घले तत्काल यस्ता गतिविधि रोक्न आग्रह गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सबै सञ्चारकर्मीलाई अपिल गरेको छ। आगामी दिनमा पनि उल्लङ्घन जारी रहेमा सम्बन्धित व्यक्ति वा संस्थामाथि कारबाहीका लागि पहल गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5