
प्रतीक पौडेल
भैरहवा । रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं ३ निवासी मालती कुमारी केवट आज भन्दा १५ वर्ष अगाडी घर गृहिणी थिइन् । मालतीको श्रीमान् दिनहुँ रक्सी पिएर आउँथे, अहिले पनि उनी त्यसै गर्छन् । श्रीमानको रवैया ठिक नभएपछि मालतीमा आफैले केही गर्नुपर्छ भन्ने सोच आयो ।

मालतीले आफ्नो बुवा बाट कृषि सिकेकी थिइन् । करिब ३ कट्ठा खेत थियो । सोही खेतमा तरकारी खेती गर्ने मालतीले सोच बनाइन् । त्यसपछि मालतीले व्यावसायिक रूपमा तरकारी खेती गर्न सुरु गरिन् ।
मालतीले अहिले आफ्नो खेतमा टमाटर फलाइकी छन् । मालतीको छोरीको विवाह हुदैछ । मालतीले व्यावसायिक तरकारी खेती गरेरै भएको आम्दानी बाट छोरीको विवाह गर्न योग्य भएकी छन् ।
मालती भन्छिन् तरकारी खेती गरेर घर चलाएकी छु, बेमौसमी तरकारी खेती गर्दा राम्रो आम्दानी हुन्छ, मौसम अनुसार तरकारी उत्पादन गर्छु, वार्षिक २ लाख आम्दानी हुन्छ । मालतीले तरकारी उत्पादन गरे पनि बजारमा उचित मूल्य नपाउँदा समस्या हुने गरेको बताइन् । मालती सिँचाई, मल खाद्य लगायताका सुविधा सरकारले व्यवस्था गरे कृषि उत्पादन वृद्धि गर्न सहज हुने बताउँछिन् ।
मालती जस्तै मायादेवी गाउँपालिका वडा नं ४ निवासी कुमारी चिन्तादेवी लोधको पिडा पनि उस्तै रह्यो । विवाह गरेर आएदेखि कुमारीको श्रीमानले कहिले आयमूलक काम गरेनन् । सधैँ रक्सी पिएर उनलाई समस्या थोपर्ने काम बाहेक केही भएन । घरमा छोराछोरी हुर्किए । अव समस्या बढ्दै गयो । त्यसपछि कुमारीले गाउँमै रहेको ४ कट्ठा खेतमा व्यावसायिक तरकारी खेती गर्ने निधो गरिन् ।
१५ वर्ष अगाडी कुनै अनुभव बिना सुरु गरेको तरकारी खेती गर्दै जाँदा कुमारी अहिले परिपक्व भइसकेकी छन् । कुमारीको खेतमा अहिले भ्यान्टा, र पात गोभी रोपिएको छ । पात गोभी बेच्न लायकको भएको छ । भ्यान्टाको बोटमा फल फल्नु अघिका फुल फुलेका छन् । खुर्सानी पनि रोपेकी छन् कुमारीले खेतमा । कुमारी भन्छिन् तरकारी खेतीमा नलाएको भए त मेरो परिवार कसरी चल्थ्यो होला सोच्दा पनि भय सिर्जना हुन्छ ।
मालती र कुमारी मायादेवी गाउँपालिकाका दुई प्रतिनिधिमूलक पात्र मात्र हुन् । गाउँपालिकाले महिलाहरूलाई व्यावसायिक र आधुनिक कृषि प्रणालीमा जोड्न सके राम्रो प्रतिफल प्राप्त गर्ने देखिन्छ । यसका लागी गाउँपालिकाले महिलाहरूलाई कृषि सँग जोडेर प्राविधिक तालिम र कृषि यन्त्र उपलब्ध गराउन सक्नुपर्छ ।
रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित मायादेवी गाउँपालिका कृषिको लागी प्रचुर सम्भावना बोकेको स्थानीय तह हो । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको यस गाउँपालिकाको करिब ९० प्रतिशत भू–भागमा कृषि हुने गरेको छ । तर अहिले पनि धेरै जनाले परम्परागत शैलीमा कृषि गर्दै आएका छन् । परम्परागत शैलीको कृषिलाई आधुनिकता तर्फ जोड्न सके मायादेवी गाउँपालिकाले कृषिमा उपलब्धि मूलक कार्य गर्न सक्ने देखिन्छ ।




