पिएमकपका सबै खेल लुम्बिनी प्रदेशका ३ ठाउँमा भईरहेका छन् । रुपन्देहीको भैरहवा र तिलोत्तमा, दाङमा भईरहेको खेलमा खेलाडीहरुबीच उच्च प्रतिसपर्धा चलिरहेको छ ।

भैरहवामा जारी प्रधानमन्त्री कप (पिएम)मा त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेकोछ । सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशमाथि १ सय ३४ रनको फराकिलो अन्तरले जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६२ रनको बलियो योगफल बनाएको थियो । बागमतीले २७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २८ रनमा नै खुम्चिन बाध्य भयो ।
यसैगरी रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४९ रन बनायो ।
यस्तै, सोमबार नै दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो ।
तस्वीरः प्रकाश न्यौपाने


