रुपन्देहीका सामुदायिक र संस्थागत विद्यालयमा बौद्ध शिक्षा विषय अध्ययन अध्यापन गराउन प्रधानाध्यापकहरु एकमत भएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्यय संकायले बुधबार लुम्बिनीमा आयोजना गरेको विद्यालयमा “विद्यालयमा बुद्ध शिक्षा” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयमा बौद्ध शिक्षासम्बन्धी अध्ययन अध्यापन अत्यावश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बौद्ध अध्ययन संकायले बुद्ध शिक्षासम्बन्धी तयार पारेको कक्षा ७ र ८ को पाठ्यक्रम सम्बन्धमा बोल्दै उनीहरुले स्थानीय पालिकाले स्थानीयमा समावेश वा छुट्टै पाठ्यक्रम बनाएर लागू गरे आफुहरु तयार रहेको बताए ।
बुद्ध शिक्षा कार्यक्रम अन्तर्गत बौद्ध अध्ययन संकायले तयार पारेको कक्षा ७ र ८ को पाठ्यकमका विषयहरु प्रस्तुत गर्दै बौद्ध अध्ययन संकायका डीन डा. माणिक रत्न शाक्यले स्थानीय तहमा रहेको शैक्षिक संस्थामा गौतम बुद्ध र उहाँले दिनुभएको शिक्षा विद्यार्थीलाई सिकाउने ध्येयले पाठ्यक्रम तयार पारिएको बताए ।
विश्वविद्यालयका सहायक प्राध्यापक कमल थापाले बुद्धको शिक्षा अपरिहार्य रहेकोमा जोड दिदै सबै मिलेर यसलाई विद्यालयस्तरमा लागू गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल शिक्षक महासंघका सचिव चण्डी प्रसाद पाण्डेले स्थानीय पालिकासँग समन्वय गरी विद्यालयमा बुद्ध शिक्षा कार्यक्रमलाई अभियानकै रुपमा लैजान विश्वविद्यालयलाई सुझाव दिए ।


