
कर्जालाई उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा भएको वित्तीय साक्षरता कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त कुरा बताएका हुन् ।
ओमसतिया गाउँपालिका वडा नं १, ठुटिपिपलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले ऋण लिएपछि सही ढङ्गबाट लगानी गर्न आग्रह गरिन् । चौधरीले लघुवित्तले महिलाहरूलाई वित्तीय छेत्रमा पहुँच बढाउन प्रेरित गरेको जनाइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यक्रम अधिकृत देवेन्द्र खड्काले लघुवित्त निम्न स्तरका जनसङ्ख्या, ग्रामीण क्षेत्रका जनतालाई आर्थिक रूपमा सचेत बनाउन, बिना धितो कर्जा प्रवाह गर्न सञ्चालनमा आएको जानकारी दिए ।
ठुटिपिपल शाखा प्रमुख अमृता पौडेलले लघुवित्तले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै महिला सशक्तीकरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा उत्कृष्ट समूह, अनुशासित समूह लगायतका शीर्षकमा महिलाहरूलाई सम्मान गरिएको थियो । ओमसतिया गाउँपालिका वडा १ का कार्यवाहक अध्यक्ष गङ्गा थापा, क्रियाशील सहकारीका अध्यक्ष नवीनता पोख्रेल, प्रहरी प्रतिनिधि चित्र बहादुर बराल, शिवपुर शाखा प्रमुख रसु पौडेल,संस्थाका कर्मचारी र लघुवित्तमा रहेका ७० जना सदस्यहरूलाई वित्तीय साक्षरता प्रशिक्षण दिइएको थियो ।




