कविता : मेरो गायक साथी

शब्दहरुलाई स्वर प्रदान गर्न सक्यौ

जुन बेला शब्दहरु

तिम्रो स्वरको प्रतीक्षामा थिए

तिमीले शब्दहरु उठाउन सक्यौ

समय गीत बनेर गुन्जियो ।

एकलाशे यो जिन्दगी

तरङग/तरङगमा

मुटु झस्केको अवस्थालाई

अनौठो सोचाईसँगै

सिसाका टुक्राहरु फुटे सरी

मान्छेको जिन्दगी फुटेको

भयानक गीत गाउँदा

कहाँ स्थिर थियो र मन ?

मेरो गायक साथी

तिमी गाउँदै गयौ

म हराउँदै गएँ तिम्रा स्वरहरुमा ।

मेरो गायक साथी

प्रत्येक साँझ

मलाई उत्प्रेरित गर्छ

शब्दहरु लेख

म संगीत भर्ने छु

जीवनको के भर छ र ?

मृत्यु अनिश्चित छ

मृत्यु अगाडि एउटा गीत लेख

म गीत लेख्छु

ऊ स्वर भर्छ ।

उसँग गितार छ

आफैंसंगीत निकाल्छ

उसँग मादल छ

आफैं ताल मिलाउँछ

गुन्गुनाउँछ

अनि उन्मुक्त स्वरमा

एउटा मर्मश्पर्शी गीत गाउँछ ।

मान्छेका मनहरु चर्केका छन्

मुटुहरु बेजोडले धड्केका छन्

हृदयका घाउहरु पुनः बल्झिएका छन्

मेरो गायक साथी

तिमी गितार बजाउँदै गर

तिमी मादल घन्काउँदै गर

तिमी स्वर मिलाउँदै गर

म शब्दहरु लिएर आउने छु

सायद

यो गीत अझ भावुक हुने छ

हृदयको घाउ निको पार्ने मलहमपट्टि जस्तै ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5