
बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रका फुटपाथ खाली गराउने अभियान सञ्चालन गर्ने क्रममा बल प्रयोग गरेको भन्दै यहाँका विभिन्न व्यवसायिक संघ–संस्थाहरूले आपत्ति जनाएका छन्।
वैशाख २ गतेदेखि सुरु गरिएको उक्त अभियानअन्तर्गत वैशाख ३ गते अमरपथ, बीपी चोक र राममन्दिर लाइन क्षेत्रमा केही व्यवसायिक प्रतिष्ठानहरूबाट सामान हटाउने क्रममा जबर्जस्ती गरिएको आरोप व्यवसायीहरूले लगाएका हुन्।

आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संघ–संस्थाहरूले उपमहानगरपालिकाले पूर्वसहमति विपरीत कार्य गरेको दाबी गरेका छन्। विज्ञप्तिमा सटर तथा पिलरभित्र राखिएका सामानसमेत बिना अभिलेख उठाएर लगिएको, सटरमा क्षति पुर्याइएको तथा साइनबोर्ड र अस्थायी संरचना जफत गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली तथा उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थीले हस्ताक्षर गरेका छन्।
उता, उपमहानगरपालिकाले भने शहरको सौन्दर्यीकरण, ट्राफिक व्यवस्थापन र पैदलयात्रीलाई सहजता प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ।
व्यवसायी संघहरूले भने सबै पक्षबीच समन्वय गरी बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, स्पष्ट मापदण्ड तयार गर्न र जफत गरिएका सामान तत्काल सम्बन्धित व्यवसायीलाई फिर्ता गर्न माग गरेका छन्।

















