बुटवलमा ‘स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३’ आयोजना हुँदै

बुटवलमा स्थानीय सीप, कला र उत्पादनलाई संरक्षण, प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यसहित “स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३” आयोजना हुने भएको छ। विश्व सम्पदा दिवसको अवसर पारेर “हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान—स्थानीय सीप र कलाको जगेर्ना हाम्रो अभियान” भन्ने नाराका साथ वैशाख ५ गते प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको सहकार्यमा हुने उक्त कार्यक्रम बुटवल उपमहानगरपालिका–६, ट्राफिक चोकस्थित पुरानो फिल्महल परिसरमा सञ्चालन गरिनेछ।

प्रदर्शनीमा स्थानीय सीपको प्रत्यक्ष प्रदर्शन, हस्तकला, रैथाने तथा जातीय पहिचान झल्काउने उत्पादनहरूका करिब ५० वटा स्टल रहनेछन्। साथै, मौलिक खानाका परिकार, झाँकी र विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन्।

कार्यक्रम संयोजक रेवन्त बहादुर विश्वकर्माका अनुसार, प्रदर्शनीले लोपोन्मुख सीपहरूको संरक्षण, स्थानीय उत्पादनको बजार विस्तार, सांस्कृतिक सम्पदाप्रति जनचेतना अभिवृद्धि तथा रोजगारी र आयआर्जनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर विकले अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस प्रकारको प्रदर्शनी नेपालमै नयाँ र पहिलो प्रयास भएको दाबी गरे। उनले परम्परागत तथा रैथाने उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने भएकाले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।

खस्यौली बजारका निर्देशक सुमुन्द्र घिमिरेले स्थानीय उत्पादनको विशेष महत्व औंल्याउँदै मेलामा उत्पादकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने जानकारी दिए। उनका अनुसार, वैशाख ३ गतेसम्म स्टल दर्ता खुला रहनेछ र प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच महत्वपूर्ण सेतुको भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5