बुद्ध क्रिकेट क्लबको शानदार जित, रुपन्देही सुपरलिगमा ‘ए’ डिभिजनमा बढुवा

भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजन खेलमा बुद्ध क्रिकेट क्लबले उत्कृष्ट प्रदर्शन गर्दै ‘ए’ डिभिजनमा बढुवा हासिल गरेको छ। आइतबार सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बुद्धले साई ग्लोबल क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै महत्वपूर्ण सफलता हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको साई ग्लोबलले २५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ९० रन बनायो। टोलीका लागि अजय चाईले सर्वाधिक ३३ रन योगदान दिए भने बासुदेव यादवले १५ र जितेन्द्र केवटले १० रन जोडे। तर बुद्ध क्रिकेट क्लबका बलरहरू अगाडि साईको ब्याटिङ लाइनअप टिक्न सकेन।

बुद्धका अनुज चौहानले घातक बलिङ प्रदर्शन गर्दै ७ ओभर ३ बलमा ३ मेडनसहित मात्र ११ रन खर्चेर ६ विकेट झारे। यस्तै प्रवेज आलमले २ विकेट र सुरज गुरुङले १ विकेट लिए।

९१ रनको लक्ष्य पछ्याएको बुद्धले आक्रामक ब्याटिङ गर्दै १४ ओभर १ बलमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। सुरज पौडेलले अविजित ५३ रनको अर्धशतकिय इनिङ खेले भने साहिल पटेलले १७ रन जोडे। साई ग्लोबलका जितेन्द्र केवटले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

उत्कृष्ट बलिङ प्रदर्शनका लागि अनुज चौहान प्लेयर अफ द म्याच घोषित भए र उनले रु १,२०० नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा विजेता टोलीले रु १,००,००१ र उपविजेताले रु ५०,००१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै म्यान अफ द सिरिजलाई रु १५ हजार, बेस्ट ब्याटर, बेस्ट बलर र उदयीमान खेलाडीलाई समान रु ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको पुरस्कारहरू विभिन्न स्थानीय व्यवसाय तथा संस्थाहरूले प्रायोजन गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5