
लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको चार दिने टूर प्याकेज डेभलपमेन्ट तालिम शनिबार सम्पन्न भएको छ। नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न उक्त तालिममा रुपन्देही, कपिलवस्तु र पाल्पाका ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
समापन समारोहमा प्रमुख अतिथि पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश का कार्यकारी निर्देशक रामु जोशी ले लुम्बिनीमा पर्यटकीय गन्तव्यको कमी नभए पनि तिनलाई युनिक ढंगले प्याकेजिङ र प्रभावकारी मार्केटिङ गर्न आवश्यक रहेको बताए। उनले अन्तर्राष्ट्रिय स्तरका प्याकेजसँगै स्थानीय गन्तव्यहरू समेटेर नयाँ पर्यटन प्रोडक्ट विकास गर्न व्यवसायीहरूलाई आग्रह गरे।

नाट्टाका केन्द्रीय सदस्य बिजय रिजाल ले प्रशिक्षक विनय शाक्य को अनुभव सहभागीहरूका लागि महत्वपूर्ण पुँजी भएको उल्लेख गर्दै तालिमले काम गर्ने शैलीमा सुधार ल्याउने विश्वास व्यक्त गरे। नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापा ले पर्यटन क्षेत्रको विकासका लागि संस्थागत एकता अपरिहार्य रहेको बताए।
वरिष्ठ उपाध्यक्ष कुल चन्द्र पाण्डे को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष सागर अधिकारी तथा प्रशिक्षार्थीका तर्फबाट भिष्मदेव भारी ले तालिम उपलब्धिमूलक रहेको धारणा राखेका थिए। चार दिनसम्म सञ्चालित तालिमको सहजीकरण प्रशिक्षक विनय शाक्यले गरेका थिए। सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै समापन गरिएको उक्त तालिमले लुम्बिनी क्षेत्रको पर्यटनलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

















