
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न तथा सुझाव प्रस्तुत गरेका छन्।
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान कार्यान्वयन र जनअपेक्षा पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए। कृषिमा मल, बीउबिजन तथा राहत अभावबारे उनले सरकारसँग स्पष्ट जवाफ माग गरे।

वीरबहादुर रानाले नयाँ सरकारलाई बधाई दिँदै पुराना दलहरूले केही नगरेको भन्ने धारणा गलत भएको बताए। संघीयताको मर्मअनुसार काम हुन नसकेकोमा उनले असन्तुष्टि जनाए।
महिला हिंसा र बलात्कारका घटनामा वृद्धि भएको भन्दै अम्बिका काफ्ले र चन्द्रकेश गुप्ताले कडा कदम चाल्न माग गरे।
मिनाकुमारी श्रेष्ठले योजना कार्यान्वयनमा ढिलाइ हुँदा बजेट फ्रिज हुने अवस्था आएको उल्लेख गरिन्। राजकुमार चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दा तारा थापाले आयोगको निष्पक्षतामाथि प्रश्न उठाइन्।
बैठकमा उठेका विषयमा जवाफ दिँदै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले अधिकांश योजना कार्यान्वयनमा रहेको जानकारी दिए।
वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८’ संशोधन विधेयक सभामा पेश गरेका छन्। प्रदेश सभाको अर्को बैठक चैत २४ गते बस्नेछ।




