
प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान पुर्याउँदै आएको बताएका छन्।
मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले सेनालाई समयअनुकूल सक्षम संस्थाका रूपमा विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।

उनका अनुसार, नेपाली सेनाले राष्ट्रिय सुरक्षासँगै विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना अभियानमा खेलेको भूमिकाले सेनालाई स्वदेश तथा विदेशमा विश्वसनीय संस्थाका रूपमा स्थापित गरेको छ।
प्रधान सेनापति सिग्देलले हालै सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै यसमा भूतपूर्व सैनिकहरूको योगदान पनि महत्वपूर्ण रहेको बताए।
“हाम्रा वीर पुर्खाहरूको त्याग, बलिदान र राष्ट्रभक्तिले हाम्रो इतिहासलाई गर्विलो बनाएको छ,” उनले भने, “सैनिक अनुशासन र एकताको भावना नै हाम्रो शक्ति हो।”
उनले भूतपूर्व सैनिक सम्मेलनलाई पुनर्मिलन मात्र नभई समस्याहरू बुझ्ने, कल्याणकारी कार्यक्रम सुधार गर्ने र भविष्यका नीति निर्माण गर्ने महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरे।
साथै, नेपाली सेना कल्याणकारी बोर्डले हिताधिकारीहरूलाई एकीकृत गर्न देशभर सञ्जाल विस्तार गर्ने कार्य तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए।




