भैरहवामा पाँचौं सिद्धार्थ रैथाने सडक खाना महोत्सव हुँदै, २५–३० हजार दर्शक आउने अपेक्षा

नयाँ वर्ष २०८३ को स्वागतलाई लक्षित गर्दै रुपन्देहीको भैरहवामा पाँचौं “सिद्धार्थ रैथाने सडक खाना महोत्सव–२०८२” आयोजना हुने भएको छ। होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही को आयोजनामा हुने महोत्सव यही चैत ३० गते सम्पन्न हुने आयोजकले जनाएको छ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष राजेश महोत्राले स्थानीय स्वाद, कला र संस्कृतिलाई प्रवर्द्धन गर्दै भैरहवालाई ‘फूड टुरिजम’ को रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार यस प्रकारका कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन गर्नुका साथै आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

महोत्सव सिद्धार्थ क्रिकेट रंगशाला रोड मा चैत ३० गते साँझ ७ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ। नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना गरिने महोत्सवले स्थानीय बासिन्दा तथा पर्यटकलाई एकै स्थानमा विविध खानाका परिकारहरूको स्वाद लिन अवसर प्रदान गर्नेछ।

आयोजकका अनुसार महोत्सवमा करिब ८० वटा स्टल रहनेछन्, जहाँ रैथाने तथा आधुनिक परिकारहरू उपलब्ध हुनेछन्। करिब २५ देखि ३० हजार दर्शक सहभागी हुने अनुमान गरिएको महोत्सवबाट करिब १ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ।

संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले महोत्सवमा स्थानीय तथा राष्ट्रिय कला, संस्कृति झल्किने विविध प्रस्तुति, नृत्य तथा डिजेसहित भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनका अनुसार महोत्सवले मनोरञ्जनसँगै सांस्कृतिक पहिचान झल्काउने अवसर पनि प्रदान गर्नेछ।

यसैगरी, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले महोत्सवमा खानेकुराको गुणस्तर र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले यस्ता कार्यक्रमले क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्नका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिमबहादुर खत्री, होटल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशका महासचिव गणेशप्रसाद बेल्बासे, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन विश्वकर्मा तथा संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईलगायतले महोत्सव सफल बनाउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरे।

महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका रहेको छ भने प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय तथा घरेलु तथा साना उद्योग कार्यालय रहेका छन्। संरक्षकका रूपमा होटल व्यवसायी महासंघ नेपाल र यसको लुम्बिनी प्रदेश समितिको भूमिका रहनेछ भने विभिन्न संघ–संस्था तथा उद्योगी–व्यवसायीहरूले सहयोग गर्ने जनाइएको छ।

आयोजकका अनुसार महोत्सवले भैरहवालाई ‘फूड हब’ का रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। साथै, नयाँ वर्षको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले सामाजिक तथा सांस्कृतिक एकता सुदृढ पार्नुका साथै पर्यटन उद्योगलाई पुनर्जीवन दिन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5