जेन जि आन्दोलन पछि पनि नसुध्रिएको सिद्धार्थनगर ! नागरिक समाजका अगुवाको चिन्ता

भैरहवा । रुपन्देही सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगरमा अहिले पनि जनप्रतिनिधिहरु पुरानै ढाँचाको कार्य सम्पादन गरिरहेका छन् । नगरपालिकामा अहिले सम्म हिउँदे अधिवेशन हुनु सकेको छैन । जसको कारण धेरै काम प्रभावित भएका छन् । नगरमा मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी र नगर प्रवक्ता भोला यादवको त्रिपक्षीय स्वार्थ बाझिँदा हिउँदे अधिवेशन हुन नसकेको हो । अधिवेशन समयमा गर्न नसक्दा नगरमा चार महिना अगाडिदेखि सुुरु भएको एडिबीको बहुवर्षिय अर्बौको कार्यक्रम समेत प्रभावित हुने देखिएको छ । कांग्रेसबाट निर्वाचित मेयर खान, एमालेबाट निर्वाचित उपमेयर अधिकारी र राप्रपाबाट निर्वाचित प्रवक्ता यादवले अहिले पनि नगरको साझा हितमा भन्दा पार्टीगत हितमा लाग्दा समस्या बल्झिएको देखिन्छ ।

भ्रष्टाचार र नातावादको विरुद्धमा भदौ २३ गतेको जेन जि पुस्ताको विद्रोह पश्चात भएको फागुन २१ गतेको निर्वाचनले देशैभर नयाँ जनमत सृजना गरेको भएता पनि सिद्धार्थनगरका जनप्रतिनिधीहरुमा अझै सोंच परिवर्तन नभएको देखिएको छ । उनीहरु अहिले पनि जनपक्षीय काम भन्दा सस्तो लोकप्रियता र व्यक्तिगत स्वार्थमा केन्द्रित भएका छन् । विगतदेखि स्थानीयहरुले विरोध गर्दै आएको वडा अध्यक्ष कप, वडाका जनप्रतिनिधिहरुको भ्रमण, न्यायिक समितिको भ्रमण जस्ता कार्यक्रम मात्रै होइन नगर बाहिर बुटवलमा कार्यक्षेत्र भएका खेलकुद संस्थाहरुको नाममा बजेट बिनियोजन गरि कार्यन्वयन गरिरहेका छन् । नगरपालिकामा विभिन्न तह र पदमा कर्मचारीको आवश्यक्ता भएको भन्दै कर्मचारी माग गर्दै हजारौ सर्वसाधरणलाई फर्म भराएको भएता पनि एकाएक स्थगित गरिएको थियो । उक्त फर्म भर्दा बापतको राजस्व शुल्क अहिले सम्म फर्म भर्ने व्यक्तिलाई फिर्ता गरिएको छैन । यसैगरी सरकारको नीति विरुद्ध नगरमा विभिन्न नाममा ज्यालादारी र करारका कर्मचारी तथा सल्लाहकार समेत राखिएको छ । विगत ३ बर्षदेखि पत्रकारिता, साहित्य क्षेत्रको पुरस्कार बितरण गरिएको छैन । नगर क्षेत्रमा गुट्खा निषेधित गर्ने कार्यपालिको निर्णयलाई कार्यन्वयन गरिएको छैन ।

नगरको सेवा गर्ने लिखित प्रतिबद्धता सहित घोषणापत्र सार्वजनिक गरेर निर्वाचन जितेर आएका मेयर खान, उपमेयर अधिकारी र प्रवक्ता यादवले जिम्मेवार नबन्दा न समयमै कार्यपालिका बैठक बस्न सकेको छ नत अधिवेशन नै ।

यिनै तीनजनाको योजनामा अन्य वडाध्यक्ष र कार्यपालिका सदस्यहरु चल्ने गर्दछन । जसको कारण मास्टरमाईन्डेट ३ जनाले सिद्धार्थनगरलाई कहाँ पुराउने हुनु धेरैले चिन्ता ब्यक्त गर्न थालेका छन् ।

सिद्धार्थनगरमा फोहोर मैला ब्यवस्थापन, डन्डा करिडोर परियोजना कार्यन्वयन, कृषि हाटबजारको सन्चालन, भैरहवा मन्डप निर्माण, भेलपुर खेलकुद मैदानको स्तरोन्नती, बेलहियाको सौन्दर्यकरण, लुम्बिनी रोडबाट कबाड हटाई सिनपा ९ मा अटो भिलेज सन्चालन, पार्किङ ब्यवस्थापन, रात्रीकालिन बजारको ब्यवस्थापन , महात्माबुुद्ध गोल्डकप सन्चालन जस्ता महत्वपुर्ण कार्य भएता पनि ति कार्यप्रति कुनैपनि जनप्रतिनिधिको ध्यान गएको देखिदैन ।

नगरका जनप्रतिनिधिहरुको स्वार्थको कारण नगरसभा नै प्रभावित हुनु दुखद भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् । नागरिक अगुवाहरुको संस्था विएमजी भैरहवाका अध्यक्ष विजय सागरले नगरवासीले मतदान गरी विजयी बनाइसकेपछि जनप्रतिनिधिहरुले जनताको काममा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले पार्टीगत स्वार्थभन्दा माथि उठेर नगरपालिकाको नीतिगत विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै समग्र नगरको विकासलाई प्राथमिकता दिन आग्रह गरे।

यसैगरी नागरिक सरोकार मञ्च नेपाल, रुपन्देहीका अध्यक्ष आनन्द प्रसाद गुप्ताले जनताले पाउनुपर्ने अधिकार र सुविधा सुनिश्चित गर्न तत्काल समन्वय गरी बैठक बस्नुपर्ने आवश्यकता औंल्याए। उनले विकासका कामलाई शीघ्र अघि बढाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै यस्तो अवस्था निरन्तर रहे संस्थाले चाँडै ध्यानाकर्षण कोण सभा आयोजना गर्ने चेतावनी दिए।

यसैगरी नागरिक समाजका अध्यक्ष अमित गुप्ताले सिद्धार्थनगरका जनप्रतिनिधिहरुको कार्यशैलीका कारण सिंगो नगर सरकारकै काम प्रभावित भएको भन्दै दुःख व्यक्त गरे। उनले पदको मर्यादा ख्याल गर्दै जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा नगरपालिका चुकेको महसुस भएको बताउँदै आपसी मतभेद त्यागेर समग्र नगरको विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5