
नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिताको उपाधि मिडिया कपतर्फ ग्लोबल आवाज र कर्पोरेट कपतर्फ नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले जितेका छन्।
७१औं स्थापना दिवसको अवसरमा बुटवल मा सोमबार र मंगलबार सम्पन्न प्रतियोगिताको मिडिया कप फाइनलमा ग्लोबल आवाजले बुद्ध सामुदायिक टेलिभिजनलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। विजेता ग्लोबल आवाजले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बुद्ध सामुदायिक टेलिभिजनले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

कर्पोरेट कपतर्फ नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशलाई २–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको छ। विजेता टोलीले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टोलीले २५ हजारसहित पुरस्कार पाएको छ।
मिडिया कपतर्फ ग्लोबल आवाजका डिबी सुस्लिङ उत्कृष्ट खेलाडी, बुद्ध सामुदायिक टेलिभिजनका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ता तथा ग्लोबल आवाजकै प्रकाश न्यौपाने उत्कृष्ट गोलरक्षक घोषित भए। कर्पोरेट कपतर्फ इन्जिनियर्स एशोसियसनका क्रितेश श्रेष्ठ सर्वाधिक गोलकर्ता, युवा उद्यमी मञ्चका मञ्जिल विक उत्कृष्ट खेलाडी र राहुल कौशधन उत्कृष्ट गोलरक्षक घोषित भए।
प्रतियोगिताका विजेता तथा खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका का प्रमुख खेलराज पाण्डेय, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय लगायतले पुरस्कार वितरण गरेका थिए।
यसै अवसरमा महासंघले प्रदान गर्दै आएको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार पत्रकार सुमन अधिकारीलाई नगद २५ हजारसहित प्रदान गरिएको महासंघका सचिव सिपी खनालले जानकारी दिए।




