नर्स खिमा यसरी भईन संघीय सांसद ….

समानुपातिक तर्फको फर्म भर्ने अन्तिम दिनको एक घन्टा रहँदा फर्म भरेकी प्युठानकी खिमा वि.क. संघीय सांसद चुनिँदै आज संसदमा सपथ समेत ग्रहण गरेकी छन् ।


उनलाई राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) ले समानुपातिक तर्फबाट सांसद चयन गरेको हो । रास्वपाले खुल्ला आवेदन गरेसँगै भैरहवाको सिटी अस्पतालमा कार्यरत नर्स खिमाले निवेदन दिएकी थिईन् । उनी प्राईमेरि इलेक्सनमा ९ हजार ८ सय ३५ मत लिएर दलित कलस्टरबाट छनौट भएकी थिईन् ।

२७ बर्षिय खिमा यस अघि कुनैपनि राजनैतिक दलमा आबद्धता थिइनन् । अधिकारको क्षेत्रमा सामाजिक सञ्जालहरुमा आवज उठाइरहने उनले रास्वपाले खुलाएको समानुपातिक तर्फ उम्मेदवार बन्न आफै रुचि राखेर फर्म भरेकी हुन् ।

रास्वपाले खुलाएको समानुपातिक तर्फको उम्मेदवारको फर्म भर्नको लागि ५० हजार लाग्ने भएता पनि उनका श्रीमान र उनीसँग गरेर जम्मा २० हजार थियो । फर्म भर्ने समय जम्मा एक घन्टा मात्रै थियो तर पैसा थिएन । त्यसपछि सासु आमा सुमित्रा सुनारको पेन्सन खाताबाट बेलहिया गएर एटिएमबाट थप ३० हजार निकालेर ५० हजार पुराई फर्म भरेकी उनी निर्वाचनको समयमा दलित कलस्टरबाट समानुपातिक सूचिमा समाबेश भएकी थिईन् ।

दाङको दङ्गीशरणमा जन्म भई तुलसीपुरमा हुुर्केबढेकी खिमाले तुलसीपुर स्थित अरनिको माविमा अध्ययन गरेकी थिईन् । उनले नेपालगन्जबाट नर्सिङ पास गरेपछि भैरहवा स्थित सिटी अस्पतालमा जागिर सुुरु गरेकी थिईन् । जागिर गर्दा गर्दै समानुपातिक तर्फको फर्म भरेर सांसद चुनिएकी खिमाले अस्पतालमा विदा लिएर गएपछि सांसद भएको खबरले सिंगो अस्पताल परिवार हर्षित भएको सिटी अस्पताल भैरहवाको एमडी अर्जुन पौडेलले बताए । पौडेलले भने, ‘ हामी कहाँ नर्सिङ स्टाफको रुपमा काम गर्ने खिमा जि उमेर सानो भएता पनि हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने क्षमतावान हुुुनुुहुुन्थ्यो । अहिले जनताको प्रतिनिधिको रुपमा सदनमा पुगेको खबरले हामी खुसी छौँ । उहाँले स्वास्थय क्षेत्रमा राम्रो नीति बनाउन पहल गर्ने अपेक्षा समेत गरेका छौ । ’

खिमाको बुबा घनश्याम वि.क प्रहरीको सेवा निवृत्त हवल्दार हुन् भने श्रीमान पवन सुनार पनि प्रहरीको असईको रुपमा कार्यरत रहेका छन् । माइतीमा छँदा जेठो सन्तानको जिम्मेवारी सम्हालेकी उनी यतिबेला देशको जिम्मेवारी सम्हाल्ने गरी संसदीय यात्रा तय गरेकी छन् ।

खीमाको ससुरा बुबा तिलबिर सिंह सुनार भारतको विजुली बोर्डमा जागिरे थिए । एक बर्ष अगाडी प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ बाटुले भिङ्ग्रीका पवनसँग प्रेम विवाह गरेकी खिमाले प्रवासमा ससुरा बुबाले गरेको संघर्षको कमाइलाई समानुपातिक तर्फको फर्म भर्ने कार्यमा प्रयोग गरेर संसद छिरेकी हुन् ।


सांसदको सपथ ग्रहण गरेपछि खिमाले भनिन, ‘भदौ २२ गते सम्म बाहिर जान भनेर तयारी गर्दै थिए । एक्कासी जेनजि विद्रोह भएपछि म पनि जोडिए । खासमा भन्नुपर्दा भदौ २३ गतेको घटनापछि जानि नजानि राजनीतिमा जोडिए । ’
उनले विगतमा पनि नर्सिङ विद्रोहमा सहभागि भएको तर एक बर्ष सम्म पनि सुुनुवाई नभएको गुनासो गर्दै सडकबाट कराउँदा र सदनबाट बोल्दा पक्कै पनि फरक पर्ने बताईन् ।
सदनमा नर्सिङ पेशालाई मर्यादित बनाउन र गाउँगाउँमा नर्सिङ सेवाको विस्तारको लागि पहल गर्ने उनको चाहना छ । उनले भनिन, ‘नर्सिङ एउटा ब्यक्ति होइन, ब्यवसाय हो । यसलाई ब्यवस्थित गर्न सबै जाग्नुपर्छ भन्ने लागिरहेको थियो । अब सदनबाट सोहि विषयमा नीति बनाउन भूमिका खेल्छु ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5