
रुपन्देहीमा तेस्रो संस्करणको ‘धम्मयात्रा’ आयोजना हुने भएको छ। अखिल नेपाल भिक्षु महासंघ र थाइ धर्मदूत इन्डिया–नेपाल को संयुक्त आयोजनामा आगामी चैत १३ र १४ गते ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रम अन्तर्गत धम्मयात्रा सञ्चालन गरिने भएको हो।
सोमबार भैरहवा मा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकहरूले बुद्ध शासनको संरक्षण तथा विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित यात्रा सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्।


धम्मयात्रा लुम्बिनी, बुटवल, देवदह र भैरहवा क्षेत्रलाई समेटेर सञ्चालन गरिनेछ। विगत १४ वर्षदेखि नेपालमा प्रव्रज्या कार्यक्रम हुँदै आए पनि धम्मयात्रा भने तेस्रो वर्षदेखि सुरु गरिएको हो।
धम्मयात्रा व्यवस्थापनमा संलग्न भन्ते वीरेन्द्रका अनुसार यो यात्रा भगवान् गौतम बुद्ध को जीवनसँग जोडिएको ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको छ। बुद्धले बोधिज्ञान प्राप्त गरेपछि २० हजार भिक्षुसहित कपिलवस्तु फर्कँदा प्रयोग गरिएको मार्गको स्मरणमा यो पदयात्रा तय गरिएको उनले बताए।

इतिहासमा शाक्य र कोलीय राज्यबीचको द्वन्द्व समाधान गर्दै शान्ति स्थापना गराएको सोही यात्राको सन्देशलाई पुनर्जीवित गर्नु धम्मयात्राको मुख्य उद्देश्य रहेको जनाइएको छ।
यसैगरी बौद्ध समाज नेपाल का अध्यक्ष शंकर गाहा मगरले बुद्ध जन्मभूमि नेपाल भए पनि बुद्धको ज्ञानलाई अझ व्यापक रूपमा विश्वभर फैलाउन आवश्यक रहेको बताए।
कार्यक्रमअनुसार चैत १३ गते बुटवल, देवदह र लुम्बिनीमा यात्रा हुनेछ भने चैत १४ गते भैरहवाबाट सुरु भई दिउँसो ४ बजे लुम्बिनी गेट मा पुगेर मुख्य समारोहमा परिणत हुनेछ।

५०० नव–प्रव्रजित साणमेरहरूको सहभागिता रहने यस शान्तिपूर्ण पदयात्रामा सहभागी हुन आयोजकले सर्वसाधारणलाई आह्वान गरेका छन्।




