चिनिया राजदुुत माओमिङले भने ‘लुम्बिनीको झन्डा चीन–नेपालका जनताको हृदयमा फहराइरहेको छ ’ 

लुम्बिनी । नेपालकोलागि चिनिया राजदूत चाङ माओमिङले बौद्ध कालिन सभ्यता र चिनिया सभ्यताको चर्चा गर्दै लुम्बिनीको झन्डा विश्व समुदायको हृदयमा उच्च सम्मानका साथ फहराई रहेको बताएका छन् ।
बिहीबारदेखि  लुम्बिनीमा शुुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सवलाई सम्बोधन गर्दै राजदूत माओमिङले  विश्व शान्तिको प्रतीकको रूपमा रहेको लुम्बिनीको झन्डा सबैको हृदयमा फहराई रहेको बताए । उनले भने, ‘शान्तिको झन्डा लुम्बिनीमा, सम्पूर्ण नेपालीमा र चीन–नेपालका जनताको हृदयमा अझ उच्च रूपमा फहरिरहनेछ ।’


राजदूत माओमिङले मध्यपूर्वमा भइरहेको युद्धप्रति सङ्केत गर्दै चिन्ता समेत व्यक्त गरे । उनले हरेक समस्याको निकास शान्तिपूर्ण वार्ता भएको तर्क गर्दै भने, ‘‘अन्तर्राष्ट्रिय अवस्था झन् जटिल र अस्थिर बन्दै गएको तथा विभिन्न ठाउँमा द्वन्द्व तथा युद्धका घटनाहरू दोहोरिएका छन् । यस्तो अवस्थामा शान्ति कुनै सिद्धान्त मात्र नभई हरेक परिवारको आधारभूत चाहना बनेकोछ । ’

नेपालकोलागि राजदूत भएर आएपछि पहिलो पटक लुम्बिनी आएका माओमिङले चीनले शान्तिपूर्ण विकासलाई आफ्नो राष्ट्रिय मार्गदर्शन सिद्धान्तको रूपमा अगाडी सार्दै आएको पनि दाबी गरे । उनले संसार भरिका मानव जातिको साझा भविष्य निर्माण गर्ने लक्ष्यका साथ विश्व शान्ति कायम राख्न र साझा समृद्धि हासिल गर्न चीनले आफ्नो अनुभव, दृष्टिकोण र समाधान मार्फत सक्दो योगदान दिँदै आएको पनि तर्क गरे ।


राजदूत माओमिङले चीन र नेपालको सांस्कृतिक सम्बन्ध निकै पुरानो र महत्त्वपूर्ण भएको स्मरण गर्दै चिनिया सभ्यता र बुुद्धकालिन सभ्यताको समेत चर्चा गरे । उनले नेपाल र चीन भौगोलिक रूपमा नजिक रहेका , हिमाल र नदीले जोडिएका असल छिमेकी राष्ट्र मात्र नभई सांस्कृतिक रूपमा पनि अत्यन्तै निकट रहेको बताए ।
राजदुुत माओमिङले  पञ्चशीलका सिद्धान्त दुबै देशका साझा अवधारणा भएको बताउँदै लुम्बिनी विश्वशान्तिको प्रतीकको रूपमा रहेको बताए । उनले भने, ‘भगवान् गौतमबुुद्धको जन्मस्थल लुम्बिनी आज विश्व शान्तिको प्रतीकको रूपमा स्थापित छ । मलाई पूर्ण विश्वास छ, कि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी महोत्सवले चीन र नेपालबिचको तथा सम्पूर्ण जगतको हजारौँ वर्षदेखिको बौद्ध सम्बन्ध र ऐतिहासिक मित्रतालाई अझ मजबुत बनाउनेछ ।’

चिनिया राजदूत माओमिङ शनिबार सम्म लुम्बिनीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछ । उनीसँगै नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल सिन्हा, पुर्वमन्त्री समेत रहेका नेपाल ओलिम्पीक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायत अतिथिहरू लुम्बिनी शान्ति महोत्सवका विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5