
काठमाडौँ, ५ चैत । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारहरुको अनपेक्षित हार भएपछि पार्टी सभापतिले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । सभापति गगन कुमार थापाले निर्वाचन परिणाम सार्वजनिक भए लगत्तै पदबाट राजीनामा दिने बताएका थिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय बेहोरेपछि उनले बुधवार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्। निर्वाचन परिणामले काङ्ग्रेसभित्र गम्भीर समीक्षा आवश्यक रहेको सङ्केत गरेको छ। चुनावमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको काँग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्रै प्राप्त गरेको छ। उता राष्ट्रिय स्वतन्त्र पार्टीले भने झन्डै दुई तिहाइ सिट जित्दै देशको राजनीतिक समीकरणमा ठुलो परिवर्तन ल्याएको छ।

चुनावी परिणाम सार्वजनिक भएसँगै थापाले राजीनामाको तयारी थालेका थिए। यद्यपि पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले उनलाई तत्काल राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए। उनीहरूका अनुसार नेतृत्व परिवर्तनभन्दा पनि सङ्गठन सुदृढीकरणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। उ
ल्लेखनीय कुरा के छ भने थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति चयन भएका थिए। थापाले दिएको राजीनामाबारे अन्तिम निर्णय भने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गर्ने जनाइएको छ। यसका लागि आगामी शुक्रवार बैठक बोलाइएको छ। सो बैठकले राजीनामा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने विषयमा निर्णय गर्नेछ।
राजनीतिक विश्लेषकहरूका अनुसार थापाको यो कदमले नेपाली काँग्रेसको आगामी दिशा र नेतृत्व संरचनामा महत्त्वपूर्ण प्रभाव पार्न सक्नेछ। अब पार्टीले सङ्गठन पुनर्गठन र आगामी रणनीतिमा कस्तो निर्णय लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।




