अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि ड्रोन अनुगमन सुरु हुँदै

अर्घाखाँची, ५ चैत । अर्घाखाँचीमा वन डढेलोको जोखिम न्यूनीकरण गर्न आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ड्रोनमार्फत अनुगमन सुरु गरिने भएको छ। वन क्षेत्रमा हुने सम्भावित आगलागीलाई समयमै पहिचान, नियन्त्रण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन यस्तो पहल गरिएको हो।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशर खड्का का अनुसार ड्रोन प्रयोगबाट आगलागीको वास्तविक अवस्था मूल्यांकन, आगोको स्रोत पहिचान तथा क्षति विवरण संकलनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी वन क्षेत्रमा कसले र कसरी आगलागी गरायो भन्ने विषयमा प्रमाण संकलन गर्न ड्रोन प्रविधि प्रभावकारी हुने विश्वास गरिएको छ। यसले अवैध गतिविधि नियन्त्रणमा समेत टेवा पुर्‍याउने बताइएको छ।

जिल्ला वन क्षेत्र समन्वय समितिको हालै बसेको बैठकले वन डढेलो नियन्त्रण, वन संरक्षण तथा सरोकारवाला निकायबीच समन्वय मजबुत बनाउने विभिन्न निर्णय गरेको छ। सोही निर्णयअनुसार जोखिमयुक्त वन क्षेत्रमा नियमित रूपमा ड्रोन अनुगमन गरिनेछ।

डिभिजन वन कार्यालयले क्याटागोरी ‘बि’ को ड्रोन व्यवस्थापन गरिसकेको र छिट्टै सञ्चालनमा ल्याइने तयारी पूरा भएको जनाएको छ। ड्रोन सञ्चालन तथा व्यवस्थापनका लागि डढेलो फोकल पर्सन केशब खड्काको संयोजकत्वमा विशेष टोली गठन गरिएको छ।

यस टोलीलाई आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराइनेछ, जसले कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बैठकले वन डढेलो नियन्त्रणका लागि पूर्वतयारीलाई प्राथमिकता दिँदै जनचेतना अभिवृद्धि, स्थानीय तहसँग सहकार्य तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समन्वय सुदृढ गर्ने निर्णय पनि गरेको छ।

वन क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा वन संरक्षणलाई व्यवस्थित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी को अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सम्बन्धित सबै निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले वन डढेलो नियन्त्रणमा सबै पक्षको समन्वय अपरिहार्य रहेकोमा जोड दिएका थिए।

प्रविधिको प्रयोगमार्फत वन व्यवस्थापनलाई आधुनिक, पारदर्शी र उत्तरदायी बनाउने दिशामा यो कदम महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5