
मर्चवार।
मुस्लिम समुदायको पवित्र रमजान महिनाको अवसर पारेर रुपन्देहीका विभिन्न स्थानका २ सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।
तौहिद मानव परोपकार सेवा संघ, कोटहीमाई–५ को आयोजनामा तथा वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी यूके को सहयोगमा बिहीबार कोटहीमाई–५ बेनीनगरमा उक्त सामग्री वितरण गरिएको हो।

आयोजक संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारका अनुसार रमजान महिनालाई धार्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। यस महिनामा गरिने दान, सहयोग तथा परोपकारी कार्यलाई विशेष पुण्यदायी मानिने भएकाले विभिन्न सहयोगी हातहरूको साथमा विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरिएको उनले बताए।
उनका अनुसार चामल, पिठो, तेल, नुन र दाललगायतका खाद्यान्न सामग्री कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई, मायादेवी, सियारी तथा शुद्धोधन गाउँपालिकाका विपन्न मुस्लिम तथा हिन्दु समुदायका परिवारहरूलाई वितरण गरिएको हो। कार्यक्रममार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा मानवताको भावना अझ बलियो बनाउने उद्देश्य रहेको पनि उनले बताए।
खाद्यान्न वितरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गरे। उनले रमजान महिनामा सम्पन्न परिवारले विपन्न परिवारलाई सहयोग गर्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताए। यसले समाजमा एक–अर्काप्रति सहयोग र सद्भावको भावना बढाउने उनको भनाइ थियो।
अध्यक्ष त्रिपाठीले तौहिद मानव परोपकार सेवा संघले समाजमा गर्दै आएका विभिन्न मानवीय तथा सामाजिक गतिविधिहरू सराहनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई गाउँपालिकाबाट पनि आवश्यक सहयोग र सहकार्य गर्दै आएको बताए।
कार्यक्रममा स्थानीय समुदाय, समाजसेवी तथा सहयोगीहरूको सहभागिता रहेको थियो। आयोजकले आगामी दिनहरूमा पनि विपन्न तथा आवश्यकतामा रहेका परिवारहरूको सहयोगका लागि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

















