
भैरहवा, लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ पी नेपाल, एरिया २ मा आबद्ध लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धको को आयोजनामा ओमसतिया–४ ठुलो बालापुरस्थित हनुमान मन्दिर, हनुमान चोकमा दुई दिवसीय श्री शनिदेव मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
फागुन १५ र १६ गते सञ्चालन भएको धार्मिक अनुष्ठान अन्तर्गत दोस्रो दिन विशेष पूजाअर्चना, वैदिक मन्त्र उच्चारण तथा नगर परिक्रमा सम्पन्न गरिएको थियो। धार्मिक विधिअनुसार शनिदेवको मूर्तिमा प्राण प्रतिष्ठा गरिएसँगै मन्दिर परिसर भक्तजनको उल्लेख्य उपस्थितिले आस्था र श्रद्धाले भरिएको देखिन्थ्यो।

कार्यक्रमको सफल सञ्चालनमा हनुमान मन्दिर पूजा व्यवस्थापन समितिले महत्वपूर्ण योगदान पुर्याएको थियो। समितिको समन्वय, अनुशासन र व्यवस्थापनका कारण सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण र सुव्यवस्थित ढंगले सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको नेतृत्व क्लब अध्यक्ष लियो सुमित पराजुलीले गरेका थिए। चार्टर प्रेसिडेन्ट लियो सन्दीप कसौधन मार्गदर्शकका रूपमा सक्रिय रहेका थिए भने संयोजक लियो बिन्ध्याचल पाण्डेको योजनाबद्ध व्यवस्थापनले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
धार्मिक तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, लियो लिडर तथा ठूलो संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो। आयोजकका अनुसार यस प्रकारका कार्यक्रमले समुदायमा सेवा भाव, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउने विश्वास लिइएको छ।




