“हाम्रो काम र स्पष्ट भिजनले नै युवाहरूलाई आश्वस्त पार्नेछ”

आगामि फागुुन २१ गते हुुन गईरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनकोलागि उम्मेदवारी दिएकाहरु यतिबेला घरदैलो गरिरहेका छन् । यो प्रतिनिधीसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरु सबै मतादातालाई भेट्न पनि सक्दैनन । किनकी समय थोरै छ, मतादाता धेरै छन् । यसैले सञ्चार माध्ययमको दायित्व बुझेर उम्मेदवारहरुको मुुख्य चुुनाबी कार्यक्रम सहितको कुराहरु समेटेर नेपाल वर्ड डटकमले उम्मेदवारसँग ५ प्रश्न निर्वाचन विशेष स्तम्भ शुरु गरेको छ । हाम्रो यो स्तम्भ सञ्चालन गर्नुको मुुख्य उद्धेश्य उम्मेदवारहरुको कार्यक्रमलाई मतादाता समक्ष पुराउने हो । निर्वाचन विशेषको सो स्तम्भकोलागि रुपन्देही क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) तर्फबाट उम्मेदवार रहेका बासुदेव घिमिरेसँग हाम्रा सहकर्मि प्रतिक पौडेल र जेपी रायले गरेको कुराकानिको सम्पादित अंश:

नेपाल वर्ड डटकममा तपाईंलाई, स्वागत छ । घरदैलोको क्रममा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

हामी यतिबेला चुनाबी प्रचार – प्रशारमा छौँ । निर्वाचनको समय अत्यन्तै नजिकिएको छ । सुरुदेखि अहिलेसम्मको माहोल हेर्दा नेकपा एमालेप्रति र विशेषगरी रुपन्देही क्षेत्र नम्बर ३ मा हामीप्रति आम नागरिक र मतदाताहरूको जुन सद्भाव, माया र ऊर्जा देखिएको छ, त्यो अत्यन्तै उत्साहजनक छ । घरदैलोमा उहाँहरूको सक्रिय सहभागिता र हामीलाई देखाउनुभएको स्नेहले गर्दा यस पटक हामी धेरै ठूलो मतान्तरका साथ यो निर्वाचन जित्छौँ भन्ने स्पष्ट आँकलन गर्न सकिन्छ । मतादाताहरुले दिएको सुुझाबलाई गम्भिरता पुर्वक लिएर आफ्ना कार्यक्रममा समाबेश गरिरहेका छौ । हामी जनताको खुुसीलाई केन्द्रमा राखेर काम गरिरहेका छौ ।

जनताले एमालेलाई नै किन रोज्ने? के छ त्यस्तो परिवर्तनको एजेन्डा ?

म नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवारका रूपमा अगाडि आएको छु । हाम्रो प्रमुख मुद्दा भनेको नेपालमा सुशासन कायम गर्ने र भ्रष्टाचारलाई न्यूनीकरण गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु हो । सुशासनमार्फत सन्तुलित विकासको अवधारणालाई कार्यान्वयन गर्नु नै हाम्रो मुख्य लक्ष्य रहनेछ । हाम्रो पाटिले समृद्धिका २५ आधार तय गरि सार्वजनिक पनि गरिसकेको छ । ती आधारहरुलाई टेकेर, रुपन्देही क्षेत्र नम्बर ३ का आवश्यक्ताई केन्द्रमा राख्दै नीति निर्माण गर्ने तथा भौतिक र सामाजिकको विकासलागि अगुुवाई गर्न पनि हामी लागिपर्नेछौ ।

एउटा संघीय सांसदको प्रमुख भूमिका भनेको राम्रो र जनमुखी कानुन निर्माण गर्नु हो। मसँग विगतको संसदीय अभ्यासको अनुभव छ, त्यसैले म निर्वाचित भएपछि कानुन निर्माणको पाटोलाई जनमैत्री बनाउने मेरो प्रमुख दायित्व हुनेछ। यहाँका नागरिकले भोगेका समस्याहरूलाई संघीय संसद्मा उजागर गर्ने र त्यसलाई कार्यान्वयनको तहसम्म पुर्याउन म प्रतिबद्ध छु। हाम्रा हरेक टोल–टोलमा कमिटीहरू परिचालित छन्, जसले निर्वाचनको माहोल बनाउन सहज भएको छ। अर्कोतर्फ, नेकपा एमालेले उठाएका राष्ट्रिय स्तरका जनजीविका र समृद्धिका मुद्दाहरूलाई नागरिकले बिर्सिएका छैनन्।

तपाईँले जित्ने मुख्य आधार र जनतालाई सुनाइरहेका मुख्य एजेन्डाहरू के–के हुन?

निर्वाचनमा उम्मेदवारको व्यक्तित्वले पनि ठूलो अर्थ राख्छ। मैले संसदीय अभ्यासमा जुन अनुभव प्राप्त गरेँ, त्यसले मलाई धेरै कुरा सिकाएको छ। म यो क्षेत्रसँग विगत ४०–४२ वर्षदेखि नजिक छु, यहाँको बस्ती, नागरिकको चेतना स्तर, शिक्षा, स्वास्थ्य र युवा रोजगारीका समस्याहरूलाई मैले राम्रोसँग बुझेको छु।

विशेषगरी, अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न हिजो पनि मैले पहल गरेको थिएँ र भोलि पनि गर्नेछु । साथै, २०७४ देखि ०७९ सम्म तिलोत्तमा नगरपालिकाको नगर प्रमुखका रूपमा मैले जुन जिम्मेवारी पूरा गरेँ र हाम्रो टिमले जुन उपलब्धि हासिल गर्यो, त्यो नै मेरो जितको बलियो आधार हो । अहिले हामीसँगै चुनावी मैदानमा रहेका अन्य केही दल, केहि उम्मेदवार र स्वतन्त्रहरूले पनि हामीलाई समर्थन गरिसकेको अवस्था छ । जसले गर्दा नेकपा एमाले र सूर्य चिन्हप्रति आकर्षण अझ बढेको छ । अझ भन्नुुपर्दा रुपन्देही ३ का सम्पुर्ण मतादाताहरुले हाम्रो पाटि नेकपा एमाले, पाटिको उम्मेदवारको रुपम रहेको मलाई मतदान गर्ने विश्वास लिएको छुु । मेरा चुनाबी कार्यक्रम भनेको रुपन्देही ३ का जनताले जे माग गर्नुुहुुन्छ त्यहि नै हो ।

युवा पुस्तामा राजनीति र दलहरू प्रति केही निराशा देखिन्छ, उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ?

दलीय व्यवस्थामा दलकै भूमिका प्रमुख रहन्छ । यो बहुदलीय र गणतन्त्रात्मक व्यवस्था हो, जहाँ हामीले राजतन्त्र सखाप पारेर यो अवस्थासम्म आइपुगेका हौँ । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारहरूले लोकप्रियताका आधारमा जितेको देखिए पनि उनीहरूको भूमिकाले मात्रै राष्ट्र निर्माण र समृद्धिको सपना पूरा हुन सक्दैन । स्वतन्त्रहरूले न सरकार बनाउन सक्छन्, न त कुनै ठोस सिद्धान्त र विचार बोकेका हुन्छन् । केवल उत्तेजित कुरा गरेर मुलुकले निकास पाउँदैन ।

अन्ततः दलीय व्यवस्थालाई नै संस्थागत र व्यवस्थित बनाउनुपर्छ । पुराना वा नयाँ भन्ने कुरा मात्र ठूलो होइन, उम्मेदवारको आचरण, उसको विगतको काम र दलको स्पष्ट कार्ययोजना मुख्य कुरा हो । त्यसैले हामीले गर्ने काम र हाम्रो स्पष्ट भिजनले नै युवाहरूलाई आश्वस्त पार्नेछ । पुुराना पुस्ताको होश, नयाँ पुुस्ताको जोँशलाई साथसाथमा समृद्ध नेपाल बनाउने हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5