सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला २०८२ को तयारी पूरा

महाशिवरात्री पर्वको अवसरमा सिद्धबाबा मन्दिर मा लाग्ने मेला भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको छ। मन्दिर परिसरलाई आकर्षक रूपमा सजाइएको छ भने भक्तजनलाई सहज र सुरक्षित दर्शन गराउने व्यवस्था मिलाइएको मन्दिर विकास समितिले जनाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा समितिले यस वर्ष दर्शन व्यवस्थापन थप व्यवस्थित बनाइएको जानकारी दिएको हो। समितिका अध्यक्ष सन्तोषकुमार शेरचनका अनुसार गत वर्षझैँ यस वर्ष पनि टोकन प्रणाली लागू गरिएको छ। साथै भक्तजनको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ।

वृद्धवृद्धा, गर्भवती, अशक्त तथा असहाय व्यक्तिलाई प्राथमिकताका साथ मूल मन्दिरमै पुगेर पूजा–अर्चना तथा दर्शन गर्ने व्यवस्था गरिएको छ। दैनिक पूजापाठपछि बिहान ४ बजेदेखि सर्वसाधारणका लागि दर्शन खुला गरिनेछ।

मेलालाई व्यवस्थित बनाउन करिब ५० जना सुरक्षाकर्मी, २०० स्वयंसेवक तथा १८ वटा सिसी क्यामेरा मार्फत निगरानीको प्रबन्ध मिलाइएको छ। सरसफाइ, शौचालय, खानेपानी, पार्किङ, भण्डारा र जुत्ताचप्पल राख्ने स्थानको उचित व्यवस्था गरिएको छ।

मेला संयोजक तोया लम्सालका अनुसार दुई वटा निःशुल्क र नौ वटा सशुल्क बस सेवा सञ्चालन गरिनेछ। बसहरू बुटवलका योगीकुटी, कालिकानगर, राजमार्ग चौराहा, अस्पताल लाइन, देवीनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा दोभान–झुम्साबाट सञ्चालन हुनेछन्।
प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेका अनुसार यस वर्ष भक्तजनलाई सिद्धबाबा सुरुङमार्गभित्र लाइन व्यवस्थापन गरिनेछ, जसले राजमार्गको सवारी आवागमन प्रभावित नहुने विश्वास गरिएको छ। गत वर्ष साढे तीन घण्टासम्म लाइन बस्नुपर्ने अवस्था रहे पनि यस वर्ष साढे दुई घण्टाभित्रै दर्शन गराउने लक्ष्य राखिएको छ।

समितिका अनुसार गत वर्ष करिब ४० हजार भक्तजनले दर्शन गरेका थिए। यस वर्ष भने ६० हजारभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ।
महाशिवरात्रीको अवसरमा शिवपूजन, रुद्राभिषेक, अखण्ड हरिकीर्तन लगायतका धार्मिक कार्यक्रमसमेत आयोजना गरिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5