
उत्तराखण्ड । भारतको उत्तराखण्ड स्थित बद्रीनाथ नजिकै एक्कासी हिम पहिरो जाँदा धेरैको हताहति भएको अनुमान छ ।
उत्तराखण्ड स्थित चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको हो । भारतीय मिडिया एजेन्सीका अनुसार सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । फसेका कामदारमध्ये १६ जनालाई उद्धार गरिएको छ भने ४१ जना अझै उद्धारको प्रतीक्षामा छन् ।

गम्भीर अवस्थाका उनीहरूलाई माना नजिकै रहेको सेनाको क्याम्पमा पठाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको उनीहरूको भनाइ छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, ‘सीमा सडक संगठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँ नजिकै काम गरिरहेका समयमा एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन् । उद्धारका लागि सुरक्षाकर्मी त्यसतर्फ गइसकेका छन् ।’
प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १६ जना कामदारको उद्धार गरिएको बताए । ‘मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक संगठनको शिविरनजिकै ठूलो हिमपहिरो खसेको छ, जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन्,’ प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले भने, ‘तीमध्ये १६ जना कामदारलाई उद्धार गरिएको छ ।’
यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए । उनले चारवटा एम्बुलेन्स परिचालन गरिएको तर बाक्लो हिउँको कारण पुग्न कठिन भएको बताएका छ्न ।
उत्तराखण्डका मुख्यमन्त्री धामीले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको प्रतिक्रिया दिए । बिहीबार लाहौल र स्पीति प्रहरीले यस क्षेत्रका लागि हिमस्खलनको चेतावनी जारी गरेको थियो ।




