
नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित संघर्ष समिति रुपन्देहीले सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर चलाउने प्रयास भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। समितिले बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय तहहरूले हालै जारी गरेका विज्ञप्तिहरूले भूमिहीन तथा सुकुम्बासीहरूलाई त्रसित बनाएको आरोप लगाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक खगेन्द्र प्रसाद पौडेलले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान नगरी उल्टै हटाउने तयारी गर्नु अन्यायपूर्ण भएको बताए। उनले स्थानीय सरकारहरूले एकतर्फी निर्णय गर्दै बस्ती हटाउने चेतावनी दिनु मानवअधिकारको उल्लङ्घन भएको उल्लेख गरे।

वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विकल्प नदिई हटाउन खोजिए त्यसको सशक्त प्रतिकार गरिनेछ, उनले भने, सरकारले बल प्रयोग गर्ने नीति लिए आन्दोलन थप चर्किनेछ।
समितिका अनुसार रुपन्देही जिल्लामा हाल ७६ हजार ६ सय ४६ भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन्। तीमध्ये धेरैजसो परिवार वर्षौंदेखि विभिन्न सार्वजनिक तथा ऐलानी जग्गामा आश्रित भएर बसोबास गर्दै आएका छन्।
समितिले समस्या समाधानका लागि दीर्घकालीन नीति, जग्गा व्यवस्थापन तथा व्यवस्थित बसोबासको सुनिश्चितता आवश्यक रहेको जनाएको छ। साथै, सुकुम्बासीहरूलाई वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।
पत्रकार सम्मेलनमार्फत समितिले सरकारसँग तत्काल वार्ताको वातावरण सिर्जना गर्न, वास्तविक सुकुम्बासीको पहिचान गर्न र सम्मानजनक पुनःस्थापनाको योजना अघि बढाउन माग गरेको छ। अन्यथा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिइएको छ।

















