
‘पंचकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबार भएको खेलमा तिरुपति क्रिकेट क्लबले बुटवल राइनोजमाथि शानदार जित दर्ता गरेको छ। तिरुपतिले प्रतिद्वन्द्वीलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिती जनाएको हो।
४८ रनको सामान्य लक्ष्य पछ्याएको तिरुपतिले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै मात्र ४ ओभर १ बलमा १ विकेट गुमाएर ५० रन बनाउँदै सहज जित निकाल्यो। जितमा आकाश त्रिपाठीले अविजित ३६ रनको उत्कृष्ट योगदान दिए भने सन्दीप मौर्यले १३ रन थपे। बुटवलका शिव कुँवरले एक मात्र विकेट लिन सफल भए।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बुटवल राइनोज कमजोर प्रदर्शन गर्दै २० ओभर २ बलमा सबै विकेट गुमाएर ४७ रनमा समेटिएको थियो। मौसमका कारण खेल ३० ओभरमा छोट्याइएको थियो।
तिरुपतिका बलरहरूले कसिलो बलिङ गर्दै बुटवललाई सस्तैमा रोक्न सफल भए। अपराजित पौडेलले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने आकाश त्रिपाठीले २ विकेट हात पारे। मोम्मद हुसेन गद्दी, तुलराम सुनार र तुलबहादुर थापाले समान १–१ विकेट लिए। बुटवलका सुरेन्द्र गन्धर्भले १६ रन बनाए पनि अन्य खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन्।
उत्कृष्ट प्रदर्शनका लागि अपराजित पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै १,२०० रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले १ लाख १ रुपैयाँ तथा उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, म्यान अफ द सिरिजले १५ हजार, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १,२०० रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिलले प्रायोजन गरेको छ भने उपविजेता पुरस्कार विके ज्वेलर्सले प्रायोजन गरेको छ। यसैगरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक तथा व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई सहयोग गरेका छन्।

















