
सिद्धार्थनगर नगरपालिका–२ स्थित बहिरा बाल माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सव विविध कार्यक्रमका साथ उत्साहपूर्वक सम्पन्न गरेको छ। मङ्गलबार आयोजित समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अर्यालले विगतको तुलनामा श्रवण शक्ति कमजोर भएका व्यक्तिप्रति समाजको दृष्टिकोण सकारात्मक बन्दै गएको उल्लेख गरे। उनले अवसर र गुणस्तरीय शिक्षा प्रदान गर्न सके फरक क्षमता भएका बालबालिकाले पनि देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गरे। साथै, काठमाडौँ उपत्यका बाहिर लुम्बिनी प्रदेशमै पहिलोपटक स्थापना भएको यस विद्यालयले समावेशी शिक्षामा उदाहरणीय योगदान पुर्याएको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेले विद्यालय स्थापना र विकासमा स्थानीय शिक्षाविद् तथा बुद्धिजीवीहरूको महत्वपूर्ण भूमिका रहेको बताए। उनले आगामी दिनमा विद्यालयलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, वडा नं. २ का अध्यक्ष छेदीलाल श्रीवास्तवले फरक क्षमता भएका बालबालिकाका लागि विद्यालय देशकै नमुना शैक्षिक संस्थाका रूपमा स्थापित भएको बताए। स्थानीय तहबाट निरन्तर सहयोग रहने प्रतिबद्धता समेत उनले जनाए।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाका अनुसार हाल कक्षा १२ सम्म २४३ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले श्रवण अशक्त बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
कार्यक्रममा पूर्व शिक्षक, पूर्व विद्यार्थी तथा विद्यालयलाई सहयोग पुर्याउने विभिन्न दाताहरूलाई सम्मान गरिएको थियो। स्वर्ण महोत्सवले विद्यालयको विगतको योगदान स्मरण गर्दै आगामी यात्राका लागि नयाँ उत्साह र प्रतिबद्धता जगाएको आयोजकले जनाएको छ।

















