
लुम्बिनी प्रदेशले आफ्नै नव–निर्मित प्रशासनिक केन्द्रबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ। राप्ती गाउँपालिका–३ मा निर्माण गरिएको आधुनिक परिसरबाट मुख्यमन्त्री चेतनारायण आचार्यले दैनिक कामकाजको शुभारम्भ गर्दै प्रदेश प्रशासनलाई नयाँ चरणमा प्रवेश गराएका छन्।
नयाँ भवनबाट सेवा सुरु गर्दै मुख्यमन्त्री आचार्यले संघीय संरचनालाई बलियो बनाउन प्रदेशस्तरको पूर्वाधार विकास अत्यावश्यक रहेको उल्लेख गरे। उनका अनुसार राजधानी, नामकरण र प्रशासनिक केन्द्र निर्माणमा लुम्बिनी प्रदेशले हासिल गरेको सफलता अन्य प्रदेशका लागि उदाहरणीय बनेको छ। समयमै आयोजना सम्पन्न हुनु सरकारको महत्वपूर्ण उपलब्धि भएको उनले बताए।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेशकै लगानीमा निर्माण गरिएको यस प्रशासनिक केन्द्रमा सबै मन्त्रालयलाई एकै स्थानमा ल्याइएको जानकारी दिए। यसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र प्रशासनिक खर्च घटाउने विश्वास उनले व्यक्त गरे।
मण्डला आकारमा निर्माण गरिएको उक्त केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा विभिन्न विभागहरू अब एउटै परिसरबाट सञ्चालनमा आएका छन्। यसअघि विभिन्न स्थानमा छरिएर रहेका स्वास्थ्य, कृषि, भूमि व्यवस्था तथा सहकारी, र उद्योग, पर्यटन तथा यातायात मन्त्रालयहरू पनि अब यही केन्द्रमा स्थानान्तरण भएका छन्।
प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार नयाँ भवनबाट सेवा सुरु हुनु संघीयता कार्यान्वयनको दृष्टिले महत्वपूर्ण उपलब्धि हो। एकीकृत संरचनाले सेवाग्राहीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँस्थित शर्मा–सगुन जेभीले निर्माण गरेको यो प्रशासनिक केन्द्रका लागि २०७९ मंसिर २८ गते ठेक्का सम्झौता गरिएको थियो भने सोही वर्ष फागुन ३ गते शिलान्यास गरिएको थियो। करिब ३ अर्ब ९ करोड रुपैयाँ लागतमा निर्माण भएको यो केन्द्र १७ बिघा १९ कट्ठा ४ धुर क्षेत्रफलमा फैलिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालयका भवन निर्माण सम्पन्न भएका छन्। मुख्यमन्त्रीको भवन ६ तलाको रहेको छ भने अन्य मन्त्रालय भवन पाँच तलाका छन्। सबै भवनमा लिफ्ट, अन्डरग्राउन्ड पार्किङ लगायतका आधुनिक सुविधा समावेश गरिएको छ।
नयाँ प्रशासनिक केन्द्र सञ्चालनमा आएसँगै प्रदेशमा सेवा प्रवाह अझ सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ। उल्लेखनीय छ कि प्रदेश सरकारले यसअघि राप्ती प्राविधिक शिक्षालयका भवनबाट अस्थायी रूपमा मन्त्रालय सञ्चालन गर्दै आएको थियो।

















