रुपन्देही–३ का विकास प्राथमिकता र बजेट सुनिश्चिततामा सांसद थापाको जोड

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाले क्षेत्रीय विकासका मुद्दालाई प्राथमिकतामा राख्दै आगामी बजेटमार्फत ती आवश्यकताहरू सम्बोधन गरिने विश्वास व्यक्त गरेका छन्। समता टेलिभिजनसँगको संवादमा उनले नागरिकका दैनिक समस्या र स्थानीय आवश्यकताहरूलाई प्रत्यक्ष रूपमा अध्ययन गरी तिनलाई सरकारी बजेट प्रणालीसँग जोड्ने काम भइरहेको बताए।

उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारका क्षेत्रमा देखिएका चुनौतीहरूलाई व्यवस्थित रूपमा संकलन गरी सम्बन्धित मन्त्रालय र विभागहरूमा बजेट माग पेश गरिएको छ। यस प्रक्रियामा स्थानीयस्तरको वास्तविक आवश्यकता पहिचान गरी योजनाबद्ध रूपमा अघि बढिएको उनले स्पष्ट पारे।

कृषि क्षेत्रको सन्दर्भमा विशेष जोड दिँदै डा. थापाले यसपटकको बजेटले किसानका समस्यालाई केन्द्रमा राख्ने दाबी गरे। उनले विभिन्न मन्त्रालयसँग निरन्तर समन्वय र पहल भइरहेको उल्लेख गर्दै कृषि क्षेत्रमा देखिएका संरचनागत समस्या समाधानका लागि ठोस कार्यक्रम आउने विश्वास व्यक्त गरे।

बजेट वितरणको सन्दर्भमा उनले सरकार निष्पक्ष रहेको उल्लेख गर्दै कुनै क्षेत्र वा वर्ग विशेषलाई प्राथमिकता नदिई देशव्यापी आवश्यकताका आधारमा सन्तुलित ढंगले बजेट विनियोजन हुने धारणा राखे। आगामी बजेटले सबै नागरिकलाई अपनत्व महसुस गराउने र समावेशी तथा न्यायपूर्ण हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5