
पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिर विकास समितिको नयाँ नेतृत्व चयन भएको छ। सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनले अरविन्द पाण्डेयको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शेरजंग थापा, सचिवमा बिष्णु प्रसाद पाण्डेय, सहसचिवमा कुमारी खड्का र कोषाध्यक्षमा तोया लम्साल चयन भएका छन्। सदस्यहरूमा सन्तोष शेरचन, रामबहादुर थापा, दुर्गा श्रेष्ठ, नयना क्षेत्री, कमल श्रेष्ठ, वर्षा रायमाझी, नारायण प्रसाद घिमिरे र चित्रबहादुर थापा रहेका छन्।

निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेका अनुसार समावेशी र पारदर्शी संरचना कायम गर्न कार्यसमितिमा स्थानीय तह, राजनीतिक दल, पुजारी र मनोनित सदस्यहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। सोहीअनुसार ७ जना पालिकाबाट, ६ जना राजनीतिक दलबाट, २ जना पुजारीबाट र २ जना मनोनित गरी समिति गठन गरिएको हो।
कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोषकुमार शेरचनले आफ्नो कार्यकालमा भएका गतिविधि तथा विकास निर्माणका कामहरूको समीक्षा प्रस्तुत गरे। उनले मन्दिर क्षेत्रको पूर्वाधार सुधार, व्यवस्थापन सुदृढीकरण र धार्मिक गतिविधि विस्तारमा भएका उपलब्धिहरूको चर्चा गरेका थिए।
साधारणसभाको उद्घाटन गर्दै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा धामलाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गरे। उनले उचित योजना, व्यवस्थापन र समयको सदुपयोग भएमा यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा उपाध्यक्ष लालबहादुर थापा र सल्लाहकार दलबहादुर गुरुङले पनि सिद्धबाबा क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट गुरुयोजना आवश्यक रहेको सुझाव दिएका थिए।
यसैबीच, कोषाध्यक्ष कुमारी खड्काले आर्थिक वर्ष ०८१र०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै संस्थाले १ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको र ९६ लाख रुपैयाँ खर्च भएको जानकारी दिइन्। उनले आगामी दिनमा आर्थिक पारदर्शिता र प्रभावकारी खर्च व्यवस्थापनमा अझ जोड दिइने बताए।

















