
ओमसतिया गाउँपालिका–५ अन्तर्गत पर्ने गौरी–रोहिणी नदी किनार क्षेत्रमा रिटेनिङ वाल (पर्खाल) निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। वर्षायाममा हुने नदी कटान र बाढीबाट बस्ती तथा कृषियोग्य जमिन जोगाउने उद्देश्यले यो संरचना निर्माण गर्न लागिएको हो।
उक्त निर्माण कार्य मदन प्रसाद पोखरेल ९वडा अध्यक्ष, वडा नं. ५ को पहलमा सुरु गरिएको हो। स्थानीय तहको समन्वयमा सञ्चालन भइरहेको यस योजनाले दीर्घकालीन रूपमा नदी नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

विगतका वर्षहरूमा रोहिणी नदीमा पानीको बहाव बढ्दा किनार कटान भई नजिकका बस्ती र खेतबारीमा ठूलो क्षति हुँदै आएको थियो। त्यसका कारण स्थानीय बासिन्दा हरेक वर्ष त्रासमा बस्न बाध्य थिए। अहिले सुरु भएको रिटेनिङ वाल निर्माणपछि यस्तो समस्या न्यून हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।
निर्माण कार्य अन्तर्गत नदी किनारमा मजबुत पर्खाल निर्माण गरी माटो कटान रोक्ने, बस्ती सुरक्षित गर्ने तथा दीर्घकालीन संरक्षणको व्यवस्था मिलाइने बताइएको छ। यसले भविष्यमा बाढीका कारण हुने क्षति कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूका अनुसार यो योजना कार्यान्वयनमा आएपछि उनीहरूलाई ठूलो राहत मिल्नेछ। “हरेक वर्ष वर्षामा डर लाग्थ्यो, अब पर्खाल बनेपछि केही सुरक्षित महसुस हुनेछ,” एक स्थानीयले बताए।
वडा कार्यालयले निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गरिने र तोकिएको समयसीमाभित्र काम सक्ने लक्ष्य राखिएको जनाएको छ। साथै, आवश्यक अनुगमन तथा प्राविधिक सहयोगसमेत निरन्तर भइरहेको बताइएको छ।
यस किसिमका पूर्वाधार विकासका योजनाले स्थानीय स्तरमा विपद् व्यवस्थापन सुदृढ बनाउनुका साथै जनजीवन सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

















