अस्पतालमा भिडियो/फोटो खिच्न रोक, मन्त्रालयको कडा चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र अनुमति बिना भिडियो र फोटो खिच्ने तथा अवरोध सिर्जना गर्ने गतिविधि नगर्न कडा निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले अस्पताल परिसरमा अनुमति बिना प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटोरभिडियो खिच्ने, अन्तर्वार्ताको नाममा दुःख दिने तथा उपचार प्रक्रियामा अवरोध पुर्‍याउने गुनासो बढेको जनाएको छ।

यस्ता गतिविधिले बिरामीको गोपनीयता उल्लङ्घन हुनुका साथै संवेदनशील क्षेत्रमा अनावश्यक तनाव सिर्जना हुने र उपचार प्रक्रियामा समेत गम्भीर असर पर्ने मन्त्रालयको ठहर छ।

मन्त्रालयका अनुसार स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो खिच्नु, चिकित्सक तथा कर्मचारीलाई दबाब दिनु वा दुर्व्यवहार गर्नु प्रचलित कानुन विपरीत हो। “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६” र “मुलुकी अपराध संहिता, २०७४” अनुसार यस्ता कार्यमा कानुनी कारबाही हुने व्यवस्था छ।

विज्ञप्तिमा अनुमति बिना कसैको तस्बिर खिच्ने, सार्वजनिक गर्ने वा प्रसारण गर्ने कार्य गैरकानुनी भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरिएको छ। यदि कसैले यस्तो कार्य गरेमा सम्बन्धित निकायमार्फत कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

साथै, उपचारका क्रममा कमजोरी महसुस भएमा सम्बन्धित निकायमा उजुरी दिन मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5