‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियानसहित वृक्षरोपण सुरु

लुम्बिनीको सन्देशसँगै हरियाली विस्तार गर्ने उद्देश्यले लुम्बिनी विश्व शान्ति मञ्चले नयाँ अभियान अघि सारेको छ। २५७० औं बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ नामक अभियान घोषणा गर्दै मञ्चले भैरहवा–लुम्बिनी क्षेत्रमा २ हजार ५ सय ७० वटा विरुवा रोप्ने लक्ष्य लिएको हो।

अभियानको सुरुवात सिद्धार्थनगर–५ स्थित श्री भैरहवा नमूना माध्यमिक विद्यालयबाट गरिएको छ। उद्घाटनकै दिन विद्यालय परिसरमा १०८ वटा फलफूलका विरुवा रोपेर कार्यक्रमलाई औपचारिकता दिइएको मञ्चका अध्यक्ष बासु गौतमले जानकारी दिए। बाँकी विरुवा आगामी दुई महिनाभित्र विभिन्न स्थानमा रोपिनेछन्।

कार्यक्रम मञ्चको आयोजनामा विभिन्न संघ–संस्था तथा बैंक तथा वित्तीय संस्थाको सहकार्यमा सम्पन्न भएको हो। सोही अवसरमा विद्यालयमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। यस्तै, लुम्बिनी साँस्कृतिक नगरपालिका–१, खुनगाईस्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा पनि १०० वटा विरुवा रोपिएको जनाइएको छ।

मञ्चले देशभर १० लाख विरुवा रोप्ने दीर्घकालीन लक्ष्य लिएको छ। हालसम्म करिब १ लाख ९५ हजार भन्दा बढी विरुवा रोपिसकिएको जानकारी दिइएको छ।

कार्यक्रममा बोल्दै वडा नं. ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठले वृक्षारोपण र रक्तदानजस्ता कार्य समाजका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित कुमार गुप्ताले अनुशासित र सभ्य वातावरणमा कार्यक्रम सम्पन्न भएको बताए।

यसैगरी, स्थानीय अगुवा तथा सामाजिक व्यक्तित्वहरूले मञ्चले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे। ‘रिसाईल टु रिभाइभ’ का कोषाध्यक्ष रमेश खड्काले मञ्चसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आफ्ना दिवंगत बुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेको जानकारी दिए।

कार्यक्रमकै अवसरमा टोलको सरसफाइलाई सहज बनाउन आवश्यक सामग्री पनि हस्तान्तरण गरिएको थियो भने साइकल यात्रामार्फत लुम्बिनी पुगेको टोलीलाई स्वागत गरिएको थियो।

हरियाली, सामाजिक सेवा र सहकार्यको सन्देश बोकेको यो अभियानले लुम्बिनी क्षेत्रलाई थप समृद्ध र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5