
सामाजिक सेवामा सक्रिय युवा संस्था रोट्र्याक्ट क्लब अफ सिद्धार्थनगरले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित भैरहवाका सडक कुकुरलाई चम्किने घाँटीपट्टा लगाउने अभियान सुरु गरेको छ।
क्लबले भैरहवाको मेडिकल कलेज क्षेत्रदेखि बुद्धचोकसम्म रहेका ८० वटा सडक कुकुरलाई रातिको समयमा सहजै देखिने चम्किने घाँटीपट्टा लगाएको हो। सवारी साधनको प्रकाश पर्दा टल्किने यी घाँटीपट्टाले रातिको समयमा चालकलाई सडक कुकुर सजिलै देख्न सहयोग पुग्ने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको क्लबको सल्लाहकार अंकित पौडेलले बताए ।

पछिल्लो समय सडकमा हुने सवारी दुर्घटनामध्ये सडक पशुसँग ठोक्किने घटना बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको हो। विशेषगरी रातिको समयमा मोटरसाइकल तथा अन्य सवारी साधनका चालकले सडकमा रहेका कुकुर समयमै देख्न नसक्दा दुर्घटना हुने समस्या देखिँदै आएको छ। यही समस्यालाई न्यूनीकरण गर्न सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले यो अभियान अघि बढाएको रोटा वर्ष २०२६/२७ का लागि निर्वाचित अध्यक्ष विशाल भण्डारीले बताए।
अभियानका क्रममा क्लबका सदस्यहरू निसा खत्री, इसान्त रसाइली, प्रवेश पौडेल, दुर्गा कहाँर र विनय पन्थी लगायतले सडकमा रहेका कुकुरलाई सुरक्षित तरिकाले समातेर चम्किने घाँटीपट्टा लगाएका थिए। मानव र पशुबीचको सहअस्तित्व तथा मानवीय संवेदनालाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको अभियानप्रति स्थानीयवासीले समेत सकारात्मक प्रतिक्रिया दिएका छन्।
रातिको समयमा सडकमा रहेका कुकुर सहजै नदेखिँदा धेरै दुर्घटना हुने गरेका छन् । सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने सोचका साथ क्लबले यो अभियान सञ्चालन गरेको क्लबकी सल्लाहकार सरिता रानाले बताइन ।
सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको रोट्र्याक्ट क्लब अफ सिद्धार्थनगर ले यसअघि पनि रक्तदान, सरसफाइ, जनचेतनामूलक कार्यक्रम, शैक्षिक सहयोग तथा विभिन्न मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबद्वारा सञ्चालन गरिएको यो अभियानलाई स्थानीयले उदाहरणीय र प्रशंसनीय कार्यका रूपमा लिएका छन्।

















