
नेपाली नृत्य क्षेत्रमा चर्चित आस्मा विश्वकर्माले चन्द्रौटामा दर्शकलाई मन्त्रमुग्ध बनाएकी छन्।
‘द कार्टुन क्रुज’की सदस्य समेत रहेकी आस्माले शुक्रबार ओम रागमाला तथा कृष्णनगर उद्योग वाणिज्य संघद्वारा आयोजित ‘विश्व शान्ति यात्रा सांगीतिक साँझ’ कार्यक्रममा आकर्षक प्रस्तुति दिएकी हुन्। उनले हातमा ब्याट लिएर ‘चिक्री चिक्री’ गीतमा नृत्य सुरु गरेपछि दर्शक दीर्घाबाट उत्साहपूर्ण हुटिङ र तालीको वर्षा भएको थियो।

सामाजिक सञ्जालमा अत्यधिक भाइरल भएको हिन्दी फिल्म ‘पेड्डी’मा अभिनेता रामचरणले प्रस्तुत गरेको शैलीलाई अनुसरण गर्दै आस्माले ‘चिक्री चिक्री’मा गरेको करिब ४४ सेकेन्डको नृत्य दर्शकहरूले निकै मन पराएका छन्। उक्त प्रस्तुति कार्यक्रमकै मुख्य आकर्षण बनेको थियो।
नेपाली कभर डान्समार्फत चर्चामा आएकी आस्माले बुद्धपूर्णिमाको अवसरमा आयोजित सो कार्यक्रममा ‘नाइँ नभन्नु ल…’, ‘माँ कसम कट्टा हान्दिन्छु’ लगायतका गीतहरूमा पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन्। कुशल नृत्याङ्गना आस्मा नेपाली ‘बी-बोइङ गर्ल’का रूपमा पनि परिचित छन्।
फोटोः मनोज क्षेत्री / नेपाल वर्ड डटकम


















