
रुपन्देही सदरमुकाम भैरहवाका १७ क्लिनिकमा प्रशासनको ताला लगाएको छ । मापदण्ड विपरित र इजाजत बेगर सञ्चालित भएको सुचनाको आधारमा स्थानिय सरकारको अनुगमन समितिको टिमले १७ वटा मेडिकललाई कारवाही गरेको डिएसपि गणेश सापकोटाले बताए ।

अनुगमनको क्रममा मेडिकलहरु मापदण्ड विपरित रहेकोले तत्काललाई बन्द गरिएको अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विष्णु ज्ञवालीले बताए । उनले भने ‘औषधी पसल तथा क्लिनिक सञ्चालन गर्दा प्रक्रिया नपुर्रयाकाले बन्द गरिएको हो ।

सिद्धार्थनगर नगरपालिका क्षेत्रमा धेरै मेडिकल तथा क्लिनीकहरु मापदन्ड विपरित सन्चालित भईरहेका छन् । अधिकांश फार्मेसीहरुमा फार्मेस्सिट नभएको, एक्सरे क्लिनीकमा रेडियोलोजिस्ट नभएको, ल्याबमा ल्याब टेक्निसीयन नभएको तथा केहि फार्मेसीहरुमा क्लिनीक दर्ता नगरी सन्चालन गरेको समेत देखिएको छ । यसैगरी कतिपय क्लिनीकहरुमा नियम विपरित विरामी भर्ना गरेर उपचार गर्ने गरेको तथा कतिपय चिकित्सकहरुले सामन्य क्लिनीकमा पनि अप्रेशन जस्ता कार्य पनि गर्ने गरेको आरोप लाग्दै आएको छ । नगरका कतिपय क्लिनीकहरुमा भिडियो एक्सरे तथा अल्ट्रासाउन्ड गर्दा भ्रुणको लिङ्ग पहिचान समेत गराउने गरेको स्रोतले बताएको छ । ति क्लिनीकहरुमा नेपाली भन्दा भारतीय गर्भवति महिलाहरु सेवाग्राहिको रुपमा लामबद्ध हुने गरेको देखिन्छ । नगरपािलकाका जन स्वास्थ्य अधिकृत विजयनाथ चौधरीले नगरभित्रका मेडिकल तथा क्लिनीकहरुमा अनुगमन गर्दा दर्ता , नविकरण नगरी सन्चालन गरेको भेटिएको बताए ।
जिल्ला अनुगमन समितिले छवि फार्म, गुड हेल्थ फार्मेसी, लुम्बिनी डेण्टल क्लिनिक, मेड म्याक्स फार्मेसी, सियाम हेल्थ क्लिनिक, इन्दिरा प्याथोलोजी, नेशनल मल्टी स्पेसिलष्ट, शुलभ हेल्थ क्लिनिक, दियो फार्मेसी, बुद्ध एक्सरे, जीविका मेडिकल हल, लुम्बिनी अल्ट्रासाउण्ड, सेन्ट्रल लुम्बिनी एक्सरे, एम्स फार्मेसी स्वास्थ्य क्लिनिक, सिद्धार्थ हेल्थ एण्ड मेडि केयर, भैरहवा इन्द्रो क्राईम क्लिनिक र विजुला मेडिकल हल बन्द गरेको हो ।

















