सिद्धार्थनगरमा युवा समाज सेवीद्वारा रक्तदान बृहत कार्यक्रम

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ एयरपोर्ट क्षेत्रमा शनिबार युवा समाज सेवी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गर्मीयाममा रगतको अभाव हुन नदिन तथा आकस्मिक बिरामीहरूको जीवन बचाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

रक्तदान कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको संस्थाका सचिवले जानकारी दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा समाज सेवी तथा समाजसेवी संस्थाका अध्यक्ष रोशन थापाले गर्मीको समयमा अस्पतालहरूमा रगतको अभाव बढ्ने भएकाले समयमै रगत संकलन गर्न आवश्यक रहेको बताए। उनले रगत अभावकै कारण कसैको पनि ज्यान जान नपरोस् भन्ने मानवीय उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।

उनले भने, “रक्तदान जीवनदान हो। हामीले समाजप्रति आफ्नो जिम्मेवारी बुझ्दै यस्तो अभियान सञ्चालन गरेका हौं। विशेषगरी गर्मीको समयमा रगतको अभाव धेरै हुने भएकाले समयमै संकलन गर्नु आवश्यक हुन्छ।”

स्थानीय युवा नरेश यादवले संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी पाएपछि पहिलोपटक रक्तदान गरेको बताए। उनले रक्तदान गर्दा आफूलाई आत्मसन्तुष्टि मिलेको र यसले कसैको जीवन बचाउन सक्ने भएकाले सबै युवाले यस्तो सामाजिक कार्यमा सहभागी हुनुपर्ने धारणा राखे।

उनले भने, “पहिलोपटक रक्तदान गर्दा केही डर लागेको थियो, तर पछि निकै राम्रो महसुस भयो। अब आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहभागी हुनेछु।”

आयोजक संस्थाले युवाहरूलाई समाजसेवामा कसरी जोड्ने, किन समाजसेवा आवश्यक छ भन्ने सन्देश दिनका लागि पनि रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ। युवाहरूलाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास संस्थाको छ।

कार्यक्रममा सहभागीहरूले नियमित रूपमा रक्तदान गर्नुपर्ने र समाजमा मानवीय सेवाको भावना अझ विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। स्थानीयवासीले पनि यस्ता सामाजिक अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन्।

युवा समाज सेवी संस्थाले आगामी दिनमा पनि रक्तदान, स्वास्थ्य शिविर तथा अन्य सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5