
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लामो प्रतिक्षापछि आफ्नो नयाँ प्रशासनिक भवन औपचारिक रूपमा उद्घाटन गरेको छ। करिब पाँच वर्षअघि शिलान्यास गरिएको यो भवन सोमबार एक समारोहबीच नगरप्रमुख इश्तियाक अहमद खाँन र उपप्रमुख उमा अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उद्घाटनसँगै भवनमा वास्तु पूजा समेत सम्पन्न गरिएको थियो।
झण्डै २४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो भवन नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले तयार गरिएको हो। चार कठ्ठा क्षेत्रफलमा फैलिएको भवनमा भूमिगत पार्किङ, २६ कोठा, दुई वटा लिफ्ट र कार्यक्रम हल जस्ता आधुनिक सुविधा समावेश गरिएका छन्। यद्यपि, इन्टेरियर डिजाइनका केही काम अझै बाँकी रहेको नगरपालिकाले जनाएको छ।


नगरपालिकाले गत मंसिर २४ गतेदेखि नै नयाँ भवनबाट सेवा सुरु गरिसकेको भए पनि विभिन्न कारणले उद्घाटन कार्यक्रम ढिला भएको बताइएको छ। निर्माण कार्य २०७८ असारमा सुरु भई २०८० असोजमै सम्पन्न हुने लक्ष्य राखिएको थियो। तर, निर्धारित समयमा काम नसकिएपछि अन्ततः २०८२ असोज ३ गते निर्माण पूरा भएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख खाँनले आधुनिक पूर्वाधारले मात्रै नागरिकलाई प्रभावकारी सेवा दिन सम्भव हुने बताए। उनले अबको प्राथमिकता कर्मचारी र जनप्रतिनिधिबीच समन्वय गर्दै प्रविधिमार्फत छिटो र सहज सेवा दिनु रहेको उल्लेख गरे। “भवन मात्रै होइन, सेवामा पनि गुणस्तर देखिनुपर्छ,” उनले भने।

उपप्रमुख अधिकारीले नगरको विकासमा स्थानीय बासिन्दाको योगदान महत्वपूर्ण रहेको बताउँदै अधिकारसँगै कर्तव्यको पनि ख्याल गर्न आग्रह गरिन्। उनले नगरलाई गुनासोमुक्त बनाउन नागरिकको सहकार्य आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि नयाँ भवनसँगै सेवा प्रवाहमा सुधार आउनुपर्नेमा जोड दिएका थिए। उद्योगी व्यवसायीहरूले नगरको आर्थिक गतिविधि चलायमान बनाउन गुणस्तरीय सेवा आवश्यक रहेको बताए भने स्थानीयले पारदर्शिता र सहज पहुँचलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
साहित्यकारहरूले नगरभित्र रहेका पुराना पुस्तकालयहरूको संरक्षणमा ध्यान दिन आग्रह गर्दै सांस्कृतिक पक्षलाई पनि सँगै अघि बढाउनुपर्ने सुझाव दिएका थिए।
नयाँ भवनको उद्घाटनसँगै अब सिद्धार्थनगर नगरपालिकाबाट सेवा लिने सेवाग्राहीले सहज, छरितो र व्यवस्थित अनुभव गर्ने अपेक्षा गरिएको छ। भौतिक संरचनामा भएको यो सुधारलाई व्यवहारिक सेवा सुधारमा रूपान्तरण गर्न सक्नु नै अब नगरपालिकाको मुख्य चुनौती र अवसर दुवै बनेको छ।
उद्घाटन कार्यक्रममा साहित्यकार, पत्रकार, एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा, खेलाडी, उत्कृष्ट कर्मचारी र सेवानिवृत्त भएका नगरपालिकाका कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।




