
भैरहवा । चोरी तस्करी सीमावर्ती क्षेत्रमा शून्य नभएता पनि नियन्त्रण हुन सक्ने विषय हो । तर यतिबेला रुपन्देहीमा चोरी तस्करीमा संलग्नहरुले भित्री बाटो, शाखा बाटो वा रातको समयलाई भन्दा गृह प्रशासनलाई नै चुनौति दिनेगरी हाई–वे अर्थात मूलबाटोबाट नै खुलेआम तस्करी गरिरहेका छन् ।
बेलहिया बुटवल छ लेन ब्यापारिक राजमार्ग जसलाई सिद्धार्थ हाई–वे पनि भनेर चिनिन्छ । उक्त ठाउँमा ओभर स्पिडमा हुइकिने अधिकांश भारतीय नम्बर प्लेटका मोटरसाइकलले भन्सार छलीका सामग्री ओसार पसार गरिरहेका छन्

सीमावर्ती क्षेत्रमा सीमा सुरक्षाकालागि सयौंको संख्यामा सशस्त्र प्रहरीको टोलि परिचालन छ । सीमावर्ती क्षेत्रमै सशस्त्र प्रहरीका एसपी नवराज बोहोराको नेतृत्वमा सशस्त्रको गण नै छ । ठाउँठाउँमा विओपी छन् । दसगजा क्षेत्रमा नियमित रुपमा गस्ती पनि भईरहेको हुन्छ । तर ती सबै सुरक्षा दस्तालाई चुनौति दिदै चोरी तस्करीमा संलग्नहरुले यतिबेला मूलबाटो अर्थात हाई–वे नै प्रयोग गरिरहेका छन् ।
भिडियो देखिएको दृश्य मणिग्राम चौकको हो । भारतीय नम्बर प्लेटको मोटर साइकलमा कपडा तस्करी गरिरहेका दुईजनाले रातो ट्राफिक लाईट बलिरहँदा समेत त्यसको वेवास्ता गर्दै सर्भिस लाईन तिर हुुईकिएका थिए । बुटवल तर्फ जादै गरेको यो सम्वाददाता संयोगले जब हाई–वेबाट नै तस्करी भईरहेको देखेर मोबाइलबाट भिडियो कैद गर्न थाल्यो तब तस्करले बाईको गति यति बढाए कि आखाँले समेत भेऊ पान छाड्यो ।
उक्त सडक खन्डबाट नै निर्वाध रुपमा चोरी तस्करीका समानहरु ओसार पसार भईरहेका छन् । बेलहिया देखि बुटवल सम्म धेरै ठाउँमा प्रहरी चेकिङ पोइन्ट छन् । बेलहिया, डन्डा, देवकोटा चौक, बुुद्धचौक, अन्चलपुर चौक, लखन चौक, मंगलापुरमा नियमित प्रहरी चेकिङ हुन्छ । ठाउँठाउँमा सिसी क्यामेरा छन् । तर ती सबैलाई वेवास्ता गर्दै खुले आम तस्करी भईरहेको यो प्रतिनिधिमूलक दृश्य मात्रै हो । यतिबेला सरकारको नेतृत्व बालेन सरकारको नेतृत्वमा गएपछि सीमावर्ती क्षेत्रमा चोरी तस्करी शून्य हुने अपेक्षा गरिएको थियो । भ्रष्टाचार र नातावादको विरुद्धमा भएको जेन जि आन्दोलनको जगमा भएको फागुन २१ गतेको निर्वाचनबाट झन्डै दुुई तिहाई बहुुमत सिट संख्या हासिल गर्दै शक्तिशाली सरकारको गृहमन्त्री बनेका सुदन गुरुङलाई समेत चुनौति दिदै केहि सुरक्षाकर्मीको मिलोमतोमा तस्करी भईरहेको स्रोतको दाबि छ ।




