लुम्बिनीमा शुरु भयो तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव

भैरहवा । बिहीबार देखी लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु भएको छ । तिन दिवसीय महोत्सवको एक समारोहकारबिच लुम्बिनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल सिन्हवा र नेपाल स्थित चिनिया राजदूत चाङ माओमिङले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रमा मन्तव्य राख्दै मन्त्री सिन्हाले बुद्धले देखाएको शान्ति र करुणालाई विश्व समुदायले अवलम्बन गरेमा फलदायी हुने बताए । उनले भने , ‘अशान्तिले भरिएको संसारमा भगवान् बुद्धको करुणा र अहिंसाको सन्देशको पुुनरुत्थानकोलागि विश्वव्यापी भातृत्वलाई बढवा दिनु जरुरी छ । ’
मन्त्री सिन्हाले लुम्बिनी विश्व शान्तिको स्रोत र मानवताको साझा सम्पदा भएको बताउँदै लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले जनवादी गणतन्त्र चिन र नेपालबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेलेको समेत बताए ।
सो अवसरमा नेपालकालागि चिनिया राजदुुत चाङ माओमिङले चीन र नेपालको सांस्कृतिक सम्बन्ध निकै पुरानो र महत्त्वपूर्ण भएको बताए । उनले दुवै देश भौगोलिक रूपमा नजिक रहेका , हिमाल र नदीले जोडिएका असल छिमेकी राष्ट्र मात्र नभई सांस्कृतिक रूपमा पनि अत्यन्तै निकट रहेको बताए ।
राजदुुत माओमिङले पञ्चशीलका सिद्धान्त दुवै देशका साझा अवधारणा भएको बताउँदै लुम्बिनी विश्वशान्तिको प्रतीकको रूपमा रहेको बताए । उनले भने, ‘भगवान् गौतमबुुद्धको जन्मस्थल लुम्बिनी आज विश्व शान्तिको प्रतीकको रूपमा स्थापित छ । मलाई पूर्ण विश्वास छ, कि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी महोत्सवले चीन र नेपालबिचको तथा सम्पूर्ण जगतको हजारौँ वर्षदेखिको बौद्ध सम्बन्ध र ऐतिहासिक मित्रतालाई अझ मजबुत बनाउनेछ । ’


राजदुुत माओमिङले विश्वमा भइरहेको युद्धप्रति चिन्ता व्यक्त गदै ती सबैको समाधान शान्ति वार्ता नै भएको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय अवस्था झन् जटिल र अस्थिर बन्दै गएको तथा विभिन्न ठाउँमा द्वन्द्व तथा युद्धका घटनाहरू दोहोरिएका छन् । यस्तो अवस्थामा शान्ति कुनै सिद्धान्त मात्र नभई हरेक परिवारको आधारभूत चाहना बनेकोछ । ’
उद्घाटन सत्रमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्यारकाल लामाले
शान्ति र खुसिकोलागि बुद्ध ज्ञानको जरुरी रहेको बताए । उनले चीनमा भएका बौद्धमार्गिहरु सबैलाई लुम्बिनीमा स्वागत गर्न लुम्बिनी विकास कोष तथा नेपाल सरकार तयार रहेको बताउँदै चिनिया राजदूत मार्फत सबै चिनियाहरुलाई लुम्बिनी भ्रमणको निम्तो समेत दिए ।

कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका नेपाल ओलिम्पीक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनी नेपालको मात्रै नभएर समग्र विश्व समुदायको साझा धरोहर भएको बताए । उनले भने, ‘लुम्बिनीको महत्त्व र भावनालाई आत्मसाथ गर्दै नेपाल आलियम्पियन कमिटीको आयोजनामा हरेक वर्ष लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन गर्दै आएका छौ । जस मार्फत सकारात्मक ऊर्जा र आत्मिक सम्बन्ध सृजना हुनेछ ।’
तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सवको अवसरमा लुम्बिनीमा विविध कार्यक्रम हुुदैछ । बिहीबार साँझ उद्घाटन सत्र भएको महोत्सवमा शुक्रवार बिहान मायादेवी मन्दिर छेउमा ध्यान शिविर हुनेछ । साँझ लुम्बिनी स्क्वायर थिएटरमा लुम्बिनी पिस कन्सर्ट हुनेछ । शनिवार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति दौड कार्यक्रम हुने आयोजकले बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5