मर्चवारीमा ग्यास अभावको गुनासो बढेपछि संयुक्त बजार अनुगमन

असलम खान, रुपन्देही ।

मर्चवारीमाई गाउँपालिकामा ग्यास अभाव भएको गुनासो बढेपछि स्थानीय सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ। उपभोक्ताबाट ग्यास सिलिण्डर नपाइने तथा तोकिएको भन्दा बढी मूल्य लिई बिक्री भइरहेको गुनासो बढेपछि गाउँपालिका सुरक्षाकर्मीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।

पछिल्लो समय मध्यपूर्व क्षेत्रमा देखिएको अशान्तिका कारण ग्यास आपूर्ति प्रभावित हुन सक्ने आशंकाले उपभोक्तामा अभाव हुने त्रास देखिएको छ। यही अवस्थालाई मौका बनाई केही व्यवसायीहरूले ग्यास सिलिण्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरिरहेको गुनासो आएपछि मर्चवारीमाई गाउँपालिका इलाका प्रहरी कार्यालय मर्चवारले तत्काल बजार अनुगमन सुरु गरेका हुन्।

शुक्रवार गाउँपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी, स्थानीय पत्रकार तथा सुरक्षाकर्मी सम्मिलित संयुक्त टोलीले गाउँपालिकाका विभिन्न वडामा रहेका ग्यास डिलर खुद्रा पसलहरूमा अनुगमन गरेको हो। टोलीले ग्यासको मौज्दात अवस्था, बिक्री मूल्य, बिल प्रणाली तथा उपभोक्तालाई उपलब्ध गराइने सेवाबारे निरीक्षण गरेको जनाएको छ।

अनुगमनका क्रममा केही पसलहरूमा मूल्य सूची नराखिएको, बिल बिना ग्यास बिक्री भइरहेको तथा ग्यासको मौज्दातबारे स्पष्ट विवरण नराखिएको पाइएको टोलीले जनाएको छ। त्यस्ता व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको भने उपभोक्तालाई अनावश्यक रूपमा बढी मूल्य असुल्ने कार्य नगर्न कडाइका साथ सचेत गराइएको छ।

गाउँपालिकाका प्रतिनिधिहरूले उपभोक्तालाई अनावश्यक त्रासमा नपर्न आग्रह गर्दै ग्यासको आपूर्ति सामान्य अवस्थामा रहेको बताएका छन्। साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई ठगी गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

स्थानीय उपभोक्ताले पछिल्लो समय ग्यास सहज रूपमा नपाइने, पाइए पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था रहेको गुनासो गरेका थिए। यसै कारण बजारको वास्तविक अवस्था बुझ्न उपभोक्ताको हित संरक्षण गर्न संयुक्त अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।

अनुगमन टोलीले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ। उपभोक्तालाई ग्यास अभाव वा बढी मूल्य असुलिएको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। गाउँपालिकाले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, प्रहरी सरोकारवाला निकायबीच समन्वयलाई अझ सुदृढ बनाइने पनि जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5