
भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाइरहेका बेला गाँजासहित एक युवक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा प्रहरीले कोठाबाटै गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ करिब ७ः२० बजे सिद्धार्थनगर नगरपालिका–८ स्थित पुष्पलाल पथमा खानतलासी गरेको थियो।

प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१० घर भएका २७ वर्षीय अरमान अलि तेली हाल उक्त स्थानमा डेरा गरी बस्दै आएका थिए। उनको कोठामा गरिएको खानतलासीका क्रममा ३ केजी ७५० ग्राम लागुऔषध गाँजा फेला परेको हो।
बरामद गरिएको गाँजासहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पछिल्लो समय भैरहवा तथा आसपासका क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडा बनाइएको छ।




