
काठमाडौं, २० फागुन :
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले सरकारको स्पष्ट कार्यदिशा अनुरूप निर्वाचन सम्पन्न गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ। उहाँले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै देशभरका सुरक्षा प्रमुखहरूसँग नियमित समन्वय, अनुगमन र ब्रिफिङमार्फत तयारीलाई तीव्रता दिनुभएको छ।
सुरक्षा निकायको विश्लेषणअनुसार विगतको तुलनामा वर्तमान निर्वाचन केही संवेदनशील र प्रतिकूल परिस्थितिमा हुन लागेको छ। मतदान केन्द्र तथा मतदानस्थलको सङ्ख्या वृद्धि, अति संवेदनशील तथा विकट भूभागमा रहेका केन्द्रहरू, र विविध राजनीतिक गतिविधिका कारण सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण देखिए पनि प्रहरीले तयारीलाई सुदृढ बनाएको सुरक्षा विज्ञहरू बताउँछन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार- अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ। न्यूनतम स्रोत–साधनको अधिकतम उपयोग गर्दै देशभरका मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति खटाइएको छ। कतिपय दुर्गम क्षेत्रमा सवारी साधनको अभावका बाबजुद सुरक्षाकर्मी पैदल यात्रामार्फत खटिएको प्रहरी प्रधान कार्यालयले जनाइएको छ। पुराना हतियार तथा सवारी साधनका सीमितताबीच पनि उच्च मनोबलका साथ प्रहरी परिचालन हुनु संगठनात्मक दृढताको उदाहरण भएको सुरक्षा विश्लेषकहरूको भनाइ छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्ले ले वरिष्ठ प्रहरी अधिकृतहरूलाई समेत प्रत्यक्ष रूपमा मतदानस्थलमा खटाइएको जानकारी दिनुभयो। उहाँका अनुसार एआइजी स्तरको कमाण्ड संरचनामार्फत प्रदेश तथा विशेष क्षेत्रको समन्वय गरिएको छ भने जिल्लामा एसएसपी तथा एसपीको नेतृत्वमा एकीकृत सुरक्षा संयन्त्र परिचालित गरिएको छ।
‘जेएनजी आन्दोलन’पछि खस्किएको प्रहरी मनोबल पुनः उकास्नु नेतृत्वका लागि चुनौतीपूर्ण भए पनि वर्तमान नेतृत्वले संगठनलाई पुनः क्रियाशील र एकताबद्ध बनाउन सफल भएको सुरक्षा क्षेत्रका जानकारहरू बताउँछन्। प्रहरी महानिरीक्षक कार्कीले आफ्नो कार्यकालको प्रारम्भिक १०० दिनमै संगठनभित्र अनुशासन, समन्वय र समर्पणको भावना अभिवृद्धि गर्ने वातावरण निर्माण गर्नुभएको समाजशास्त्री शारदा बेलबासेले बताउनुभयो। वरिष्ठदेखि कनिष्ठ प्रहरीसम्म समान व्यवहार, सेवा सुविधा सुधार र राष्ट्रसेवाप्रति प्रतिबद्धताको भावना विकास गर्न नेतृत्वले जोड दिएको बताइएको छ।
त्रिभुवन विश्वविद्यालय का सहप्राध्यापक तथा सुरक्षा विश्लेषक उमेश चन्द्र रिजाल ले पछिल्लो चरणमा प्रहरीले जनताको पक्षमा गरेका कामहरू सकारात्मक र विश्वसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रतिकूल राजनीतिक अवस्था, सुरक्षा चुनौती र संगठनभित्रको मनोवैज्ञानिक दबाबका बीच पनि नेतृत्वले संगठनलाई एकताबद्ध बनाउँदै निर्वाचन सुरक्षामा केन्द्रित गर्नु सुखद संकेत हो।”
उहाँका अनुसार संगठनका सदस्यहरू असमञ्जस र मनोवैज्ञानिक दबाबमा रहेका बेला नेतृत्वले देशव्यापी अनुगमन, प्रत्यक्ष उपस्थिती र निरन्तर निर्देशनमार्फत मनोबल उच्च बनाउने प्रयास गरेको देखिन्छ। “यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु नेपाल प्रहरीका लागि ठूलो परीक्षा हो,” उहाँले थप्नुभयो।
संविधानका ज्ञाता वरिष्ठ अधिवक्ता शिव गौडेलले ले प्रहरी संगठनले विगतका आन्दोलन र द्वन्द्वका कठिन चरणहरू पार गर्दै देश र जनताको सुरक्षामा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार नयाँ नेतृत्वसँगै संगठन पुनः सशक्त रूपमा उभिनु सकारात्मक संकेत हो।
प्रहरी प्रधान कार्यालयले पछिल्लो समय प्रविधिमैत्री सुरक्षा योजना, सूचना संकलन प्रणाली सुदृढीकरण, र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारका लागि तयारीलाई प्राथमिकतामा राखिएको जनाएको छ। समय र परिस्थितिअनुसार संगठनलाई परिमार्जन गर्दै लैजाने रणनीतिअनुसार प्रहरी अघि बढिरहेको दाबी गरिएको छ।
देशभर एआइजी, एसएसपी तथा अन्य वरिष्ठ अधिकृतहरू प्रदेश र जिल्लामा खटिएर निर्वाचन सुरक्षामा सक्रिय रहेका छन्। उच्च मनोबल, स्पष्ट रणनीति र संगठनात्मक एकताका साथ नेपाल प्रहरी लोकतान्त्रिक अभ्यासको संरक्षण र जनताको सुरक्षामा दृढतापूर्वक उभिएको सुरक्षा निकायको दाबी छ।
निर्वाचन जस्तो संवेदनशील राष्ट्रिय कार्यलाई सफलतापूर्वक सम्पन्न गराउने दिशामा प्रहरी संगठनले प्रतिकूल अवस्थालाई अवसरका रूपमा रूपान्तरण गर्दै आफ्नो दायित्व निर्वाह गरिरहेको निष्कर्ष सुरक्षा क्षेत्रका जानकारहरूको छ। यो अवस्थामा प्रहरीले देशको सुरक्षाको जिम्मेवारी सम्हालेर निर्वाचनमा नेपाली सेना सशस्त्र प्रहरीसँगको सम्बन्धमा अगाडि बढ्नु नेपाल प्रहरीको नेतृत्वको सबल पक्ष भएको जनकारहरू बताउँछन्।




